(चुलाचुली) इलाम / चुलाचुली गाउँपालिका बालमैत्री पालिका घोषणामा जुटेको छ । आगामी जेठ मसान्तसम्म गाउँपालिकाका दुई वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी अनुसार गाउँपालिका जुटेको हो ।
पहिलो चरणमा वडा नम्बर तीन र वडा नम्बर पाँचलाई बालमैत्री वडा घोषणा गरिने जनाइएको छ ।
छ वटा वडा रहेको सो गाउँपालिकाका अन्य वडा अर्को चरणमा घोषणाको तयारी गरिएको छ ।
बालमैत्री वडा निर्माणका लागि ५१ वटा सूचक तयार गरिएको छ ।
५१ वटै सूचक पुरा भएपछि वडालाई बालमैत्री वडा घोषणा गरिने छ । तर पछि सबै वडालाई बालमैत्री घोषणा गरिसकेपछि गाउँपालिकालाई नै बालमैत्री पालिका घोषणा गरिने गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
उनका अनुसार बालमैत्री गाउँपालिका घोषणापछि सबै बालबालिका विद्यालयको पहुँचमा पुग्ने, विद्यालयमा समेत बालमैत्री व्यवहार र विद्यालयको भौतिक संरचना समेत बालमैत्री साथै अपाङ्गतामैत्री हुने छन् ।
त्यस्तै बालबालिकालाई मदिराजन्य वस्तु ओसार प्रसारमा समेत संलग्नता गराउन नमिल्ने, कुलतमा रहेका बालबालिका भएमा सुधार गृहमा राख्ने सम्मका सूचक निर्धारण भएका छन् ।
गर्भमा नै रहेका शिशुको स्याहार र गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य जाँच गराउनु पर्ने, आमा र बच्चाको पौष्टिक आहाराको व्यवस्था देखी जन्मिएको ३५ दिन भित्र अनिवार्य जन्म दर्ता गराउनु पर्ने सम्मका सूचक तयार पारिएको छ ।
स्थानीय तहमा सडक बालबालिका शून्य बनाइ बालविवाह मुक्त पालिका हुनेछ ।
कक्षा १० सम्मका विद्यार्थीलाई बालमैत्री र विपत् व्यवस्थापन सम्बन्धी शिक्षा दिइने छ ।
यसका लागि हाल वडामा सञ्चालित होटलहरुमा अनुगमन भइरहेको छ ।
यस अघि समेत अनुगमन पश्चात् बालबालिकालाई होटलमा काम नलगाउने सहित प्रत्येक होटेलमा बालश्रम मुक्त होटल भएको स्टिकर टाँस गरिएको छ ।
निजी घर देखी सार्वजनिक स्थलमा समेत बालबालिकाको प्रयोग गर्न नहुने बताइएको छ । पछिल्लो समय यसको अनुगमन भइरहेको चुलाचुली गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्ष बबिन राईले बताए ।
उनका अनुसार चालु आर्थिक वर्ष देखी नै वडामा अभियान सञ्चालन गरिएको हो ।
हालसम्म छ चरणमा बालमैत्रीसँग सम्बन्धित कार्यक्रम सञ्चालन भएका छन् । छलफल, अन्तरक्रिया पछि आएका सुझाव पछि घरदैलो कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।
वडा नम्बर पाँचमा रहेका दुई वटा माविलाई बालमैत्री विद्यालय घोषणाको तयारी भइरहेको छ ।
विद्यालयमा घेरा बारा, बालमैत्री शौचालय निर्माण भएको र सबै बालबालिका विद्यालयको पहुँचमा पुर्याउने लक्ष रहेको वडाध्यक्ष राईको भनाई छ ।
हाल वडाले बच्चा जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गराएमा वडामा उत्पादित मह, भाले तथा फलफूल सहितका पोषण लिएर सुत्केरी आमा र नवजात शिशु भेट्न जाने कार्यक्रम गरिरहेको वडाध्यक्ष राईले बताए ।
बालमैत्री गाउँ घोषणाले समाज शिक्षित बन्ने र समृद्ध पालिका बन्ने अपेक्षा लिइएको छ ।
प्रतिक्रिया