काठमाडौं / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नदिन विपक्षी नेपाली कांग्रेसले ह्विप जारी गरेको छ।
आज (आइतबार) ललितपुरमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरूमा ह्विप जारी गरेको हो।
कांग्रेस बागमतीका सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँ तथा कांग्रेस प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह लामा समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
‘बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सभा संसदीय दलका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्री नियुक्त भएपश्चात् नेपाली कांग्रेस बागमती प्रदेशले मिति २०७९ माघ ३ गते विश्वासको मत दिएकोमा मिति २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसले राजीनामा दिई बाहिरिएको र बागमती प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको अवस्थामा मिति २०८० चैत्र १९ मा मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेकोले नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरियो’ प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
बागमती प्रदेश सभामा कांग्रेस ३७ सिट सहित सबैभन्दा ठूस्लो दलको हैसियतमा छ। गत २३ फागुनमा सरकारबाट बाहिरिएको कांग्रेसले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको थियो।
अल्पमतमा परेको २७ औं दिनमा मुख्यमन्त्री जम्मकट्टेलले सोमबार प्रदेश सभा बैठकबाट विश्वासको मत लिने भएका हुन्। सात राजनीतिक दलको ११० प्रदेश सभा सदस्य रहेको बागमतीमा सरकारलाई ५६ सांसदको समर्थन आवश्यक हुन्छ।
प्रतिक्रिया