इलाम । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि इलाम-२ उपनिर्वाचन उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।
बैठकले नेपाली काङ्ग्रेस इलाम जिल्ला सभापति समेत रहेका खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
नेपाली काँग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।
आकाङ्क्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको थियो ।
३ दिन सम्म बसेको बैठकमा भेषराज आचार्य र डम्बरबहादुर खड्का मध्ये कसलाई उम्मेदवार बनाउने भनेर छलफल भएको थियो ।
को हुन् डम्बर बहादुर खड्का ?
डम्बरबहादुर खड्का युवा माझ लोकप्रिय नाम हो । आफ्नै खर्चमा बिरामी र गरिब वर्गलाई सहयोग गर्दै आएका उनी निडर स्वभावका नेता हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका खड्का प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पटक चुनाव लड्दै छन् ।
प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक २०७९ सालको उनी हेब्बीवेट नेता मानिएका एमाले संसदीय दलका उपनेता तथा पार्टी केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सँगको प्रतिस्पर्धा निकै कम मतान्तरले उनी पछि परेका थिए ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेका खड्का १०५१ सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति बने । २०५८ सालमा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष समेत बने ।
पार्टीको १२ औँ महाधिवेशनबाट जिल्ला कोषाध्यक्ष समेत बनेका खड्का त्यसपछि महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिको प्रत्याशी हुँदै १४ औँ महाधिवेशनबाट जिल्ला सभापति बनेका हुन् ।
युवाले नेतृत्व गर्नुपर्छ भन्ने सोच राख्ने नेता खड्काले २०६२/०६३ सालमा भएको राजतन्त्र विरुद्धको आन्दोलनमा जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सोही बेला प्रहरी दमन समेत भोगेका उनले अन्य समयमा समेत परिवर्तनको पक्षमा उभिँदा प्रहरी दमन भोग्नु परेको बताउने गरेका छन् ।
गरिब परिवारमा २०३१ सालमा पिता धनबहादुर र मनमाया खड्काको कोखबाट जन्मिएका उनी सानै उमेर देखी नै राजनीतिसँगै व्यवसायमा पनि अघि बढे ।
२०७९ सालको निर्वाचनमा उनी एमाले उपाध्यक्ष नेम्वाङसँगको प्रतिस्पर्धामा एक सय १४ मतले पछि परे र उनी सो चुनावमा उपविजेता बनेका थिए ।
मतदाताकै मन र मत परिवर्तन होला भन्ने आशामा पुन उनी इलाम क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दिएका छन् । गरिब, असहाय र पीडितको सेवामा लागेका कारण आफूले मत जित्ने दाबी गर्ने खड्काले धेरैलाई सहयोग समेत गरेका छन् ।
खड्काले व्यवसायबाट कमाएको पैसाले व्यक्तिगत रूपमा नै सहयोग माग्दै आउने सयौँलाई उपचारमा सहयोग गर्ने र गरिब बर्गलाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।
कोरोना महामारीको समयमा भएको लकडाउनमा मजदुर र गरिब गरिबलाई समेत लाखौँ मूल्य बराबरको सहयोग गरेका कारण गरिब र विपन्न माझ समेत उनको लोकप्रियता बढेको छ । युवाले समेत मन पराएका नेतामा पर्छन् खड्का ।
यस अघि २०७४ सालको चुनावमा इलाम क्षेत्र नम्बर दुईकै १ बाट प्रदेश सभामा उठेका उनले दोस्रो मत ल्याएका थिए । एमालेका उम्मेदवार राम रानासँग पराजित खड्काले यस पटक प्रतिनिधिसभामा जित हाँसिला गर्ने दाबी गरेका छन् ।
प्रतिक्रिया