विराटनगर । मोरङको जहदा गाउँपालिका–२ हरिनगरा टोलस्थित एउटा बिहे घरमा शुक्रबार बिहानका राति हतियार प्रहार हुँदा बालकसहित दुई जना घाइते भएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र घरगाउँले बीच विवाद हुँदा बिहान २ः३० बजेतिर घटना भएको हो ।
घटनामा परेर जहदा–२ का ३५ वर्षीय भविष गिरी र १५ वर्षीय अवदेश राजभर घाइते भएको बस्नेतले बताए ।
घााइते हुने दुवै जना घरगाउँले हुन् । जन्ती आएका युवाले उनीहरुमाथि हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये भविषलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको डीएसपी बस्नेतको भनाइ छ । उनको ढाडमा गहिरो चोट छ । अवदेश सामान्य उपचारपछि घर फर्किएका छन् ।
उनीहरुमाथि हतियार प्रहार गरिएको घटनामा संलग्न जहदा–५ का २१ वर्षीय कृष्ण सिंहलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।
सिंह जहदा–५ बाट बिहे घरमा जन्ती गएका थिए । बिहेमा नाच्ने विषयलाई लिएर विवाद हुँदा उनले हतियार प्रहार गरेर दुई जनलाई घाइते बनाएको प्रहरीको भनाइ छ । तर, कुन हतियार प्रहार गरिएको हो भन्ने बारेमा यकिन भइसकेको छैन । घटनामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छैन ।
डीएसपी बस्नेतले घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए । ‘घटनाको प्रकृति र घाइतेको चोटको अवस्था हेर्दा हतियार नै प्रहार भएको प्रष्ट हुन्छ,’ उनले भने, ‘तर, हालसम्म हतियार बरामद भइसकेको छैन ।’
प्रतिक्रिया