इटहरी । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पूर्वका अधिकांश बालबालिकाहरूमा मायोपिया (अदुरदृष्टि)रोग फेला पर्न थालेको छ । बुधवार र बिहीबार इटहरीस्थित कस्तुरी एकेडेमीले विद्यालयमा आयोजना गरेको बृहत् आँखा शिविरमा १ सय ९३ जना (अदुरदृष्टि)का बिरामीहरू फेला परेका थिए ।
सात सय जना बालबालिकाको आँखा परीक्षणका क्रममा १ सय ९३ जनामा मायोपिया अर्थात् अदुरदृष्टिका बिरामी फेला परेको नवदृष्टि आँखा अस्पताल इटहरीका दृष्टि विशेषज्ञ राकेश थापाले बताए । यस रोगले नजिकको बस्तु स्पष्टसँग देख्न सक्ने तर टाढाको बस्तु स्पष्ट देख्न नसक्ने कमजोरीलाई मायोपिया अदुर दृष्टि भनिने गरेको दृष्टि विशेषज्ञ थापाले बताए ।
‘यस्तो रोग लाग्दा आँखामा टाढाका वस्तुको आकृति रेटिनाभन्दा अगाडि बन्छ । यस्तो आँखाको लेन्स बाक्लो हुन्छ । सिलियरी मांसपेशी खुम्चेर लेन्सलाई पर्याप्त पातलो बनाउन सक्दैन,’ थापाको भनाइ छ । यस्तै शुक्रवार इटहरी ५ मा रहेको महिला जागरण नेपालले आयोजना गरेको आँखा शिविरमा पनि सात जना बालबालिकामा मायोपिया रोग फेला परेको थापाले बताए ।
शिविरमा परीक्षण गराउनका लागि १५ जना बालबालिका आएका थिए । त्यसमध्ये सात जना बालबालिकामा उक्त रोग फेला परेको जनाइएको छ । पछिल्लो समय बालबालिकाहरूमा मोबाइल, टिभी जस्ता बस्तुहरूको अत्यधिक प्रयोग र विद्यालयमा पनि नजिकका बस्तुहरू बढी मात्रमा हेर्ने गरेका कारण यो समस्या बढ्दै गएको दृष्टि विशेषज्ञ थापाले बताए ।
उनले विकराल रूपमा बढ्दै गएको मायोपियाको रोकथामका लागि विद्यालयका छाता सङ्गठनहरूसँगको समन्वयमा आँखा परीक्षणलाई नवदृष्टि अस्पतालले तीव्रता दिन लागेको बताए । विश्व स्वास्थ्य सङ्गठनले समेत सन २०५० सम्ममा ५० प्रतिशत मानिसहरूमा मायोपिया रोग देखा पर्ने प्रक्षेपण गरेको छ ।
विद्यालय जाने बालबालिकामा टाढाको नदेख्ने, अर्थात् बोर्डमा लेखेको नदेख्ने र साथीबाट सार्नेजस्ता लक्षण देखिन थालेपछि अस्पताल धाउने गर्छन् । मायोपियाको समस्या विश्वव्यापी चुनौतीका रूपमा देखिएको विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरेको छ ।
डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार विश्वमा हाल करिब दुई अर्ब ६० करोड मानिस मायोपियाबाट पीडित भइरहेका छन् । डिजिटल उपकरणको अत्यधिक प्रयोग र अधिकांश समय घरभित्र व्यतीत हुन थालेसँगै मायोपियाको जोखिम बढ्न थालेको चिकित्सक बताउँछन् ।
प्रतिक्रिया