रसुवा : लगातारको वर्षासँगै भोटेकोशी नदीमा बहाव बढ्ने सम्भावना रहेकाले रसुवामा मनसुनजन्य विपद्को जोखिम बढेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
गृह मन्त्रालयअन्तर्गतको जिल्ला प्रशासन कार्यालय रसुवाले साउन १२ गते एक विज्ञप्ति जारी गर्दै नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, “जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षको सूचनाका आधारमा आगामी केही दिन भारी वर्षा भई नदीमा बहाव बढ्न सक्ने भएकाले विशेष सावधानी आवश्यक छ।”
विगत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी नाकामार्ग हुँदै नेपाल प्रवेश गरेको बाढीले ठूलो जनधनको क्षति गरेको सन्दर्भ उल्लेख गर्दै, प्रशासनले यस्ता क्षतिको पुनरावृत्ति रोक्न सचेत रहनु जरुरी रहेको बताएको छ।
विशेषगरी भोटेकोशी नदी, विशुली नदी, लाङटाङ खोला, चिलिमे खोला तथा जिल्लामा बहने अन्य साना ठूला खोला र तटीय क्षेत्र आसपास बसोबास गर्ने स्थानीय बासिन्दा, जलविद्युत् आयोजनाहरू, निर्माणाधीन संरचना र कार्यालयहरूले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै, बाढी, पहिरो वा सडक अवरोधको जोखिम बढेकाले रसुवामा सञ्चालित सडक यातायातमा समेत समस्या आउन सक्ने प्रशासनको चेतावनी छ। यात्रु तथा सवारी चालकहरूले यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनले विशेष अनुरोध गरेको छ।
प्रतिक्रिया