झापा : कोशी प्रदेशमा पछिल्लो दुई दशकमा जंगली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्तीले पनि ज्यान गुमाएका छन्। प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२-६३ देखि हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा यो क्षति भएको हो।
निर्देशनालयका प्रमुख डा। इन्द्रप्रसाद सापकोटाका अनुसार सोही अवधिमा ८७ जना गम्भीर घाइते र १५ जना सामान्य घाइते भएका छन्।
सबैभन्दा बढी मानवीय क्षति झापामा भएको छ। भारतबाट कोशी प्रदेशमा आउने हात्ती मुख्यतस् झापाबाट प्रवेश गर्ने भएकाले त्यहाँ क्षति बढी भएको प्रमुख सापकोटाले जानकारी दिए ।
उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलाममा एक जनाको मृत्यु भएको छ। हात्तीको मृत्युदर पनि झापामा नै उच्च देखिएको छ। झापामा २५, मोरङमा ९, सुनसरीमा ६ र उदयपुरमा एक हात्तीको मृत्यु भएको छ।
डा। सापकोटाले वन्यजन्तु संरक्षण, राहत तथा क्षतिपूर्तिमा सरकारको ठूलो रकम खर्च हुने गरेको बताउँदै, मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि स्थानीयको सहभागिता र सतर्कता आवश्यक रहेको बताए।
सरकारले हात्ती आक्रमणमा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्मको उपचार सहयोग उपलब्ध गराउँदै आएको छ।
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बाली बीमा कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
“डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी यो कार्यक्रम अघि बढाइएको हो”, प्रमुख सापकोटाले भने, “कार्यक्रम प्रभावकारी भएमा यसको दिगोपना र कानुनी व्यवस्था सुनिश्चित गर्न संघीय सरकारसँग समन्वय गर्नेछौं।”
प्रतिक्रिया