काठमाडौं / सरकारले विद्युतीय गाडी (ईभी) मा मोटर क्षमताअनुसार भन्सार र अन्तःशुल्क लगाएको छ । आगामी आर्थिक वर्षको बजेटसँगै ल्याएको आर्थिक विधेयकमा ईभीको अन्तःशुल्क र भन्सार दर परिवर्तन गरिएको हो ।
विधेयक अनुसार १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्याइएको छ ।
यसअघि अन्तःशुल्क लगाइएको थिएन । ५० किलोवाटसम्मको मोटर भएका ईभीमा भन्सार बढाइएको र अन्तःशुल्क थप लगाइने छ ।
यस्ता मोटर क्षमता भएका ईभीमा पहिले १० प्रतिशत रहेको भन्सार महसुल अब १५ प्रतिशत पुर्याइएको छ । यस्तै ईभीमा ५ प्रतिशत अन्तःशुल्क थप लगाइने छ ।
यसअघि अन्तःशुल्क लाग्ने व्यवस्था थिएन ।
यसैगरी ५० देखि १०० किलोवाट मोटर क्षमता भएका ईभीमा भन्सार र अन्तःशुल्क दुवै समान ५ प्रतिशतका दरले बढाइएको छ ।
यस्ता क्षमताका ईभीमा अनएसेम्बल्ड अन्तःशुल्क नलाग्ने व्यवस्था रहेकोमा अब १५ प्रतिशत लाग्नेछ ।
यस्तै क्षमताका अन्य ईभीमा १० प्रतिशत रहेको अन्तःशुल्क १५ प्रतिशत पुगेको छ भने भन्सार १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ ।
यस्तै १०० देखि २०० किलोवाट क्षमतायुक्त ईभीमा भन्सार १० प्रतिशतले बढेको छ । अन्तःशुल्क यथावत् राखिएको छ ।
यस्तै मोटर क्षमताको अनएसेम्बल्ड ईभीमा अब २० प्रतिशत लाग्ने भएको छ । विधेयक अनुसार १०० देखि २०० किलोवाट मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल ३० प्रतिशत पुगेको हो । बढेको भन्सार अनएसेम्बल्डका लागि पनि हो ।
यसअघि २० प्रतिशत थियोे । सरकारले २०० देखि ३०० सय किलोवाटभन्दा बढीको मोटर क्षमता भएका ईभीमा भन्सार बढाएको छ भने अन्तःशुल्क घटाएको छ । यस्ता ईभीमा अनएसेम्बल्ड र अन्य दुवैमा भन्सार ६० प्रतिशत पुगेको छ ।
यसअघि ४० थियो । उक्त क्षमताको अनएसेम्बल्ड ईभीमा अन्तःशुल्क ३५ प्रतिशत लाग्ने भएको छ भने अन्यमा ४५ प्रतिशत रहेकोमा ३५ प्रतिशतमा झारिएको छ ।
यस्तै ३०० किलोवाटभन्दा धेरै मोटर क्षमता भएका ईभीमा ८० प्रतिशत भन्सार महसुल पुर्याइएको छ ।
अन्तःशुल्क भने ६० प्रतिशतबाट ५० मा झारिएको छ । सामान ढुवानी गर्ने ईभीमा पनि सरकारले अन्तःशुल्क लगाउने भएको छ ।
तयारी जुसमा बढ्यो कर
सरकारले इनर्जी ड्रिंक्स, फलफूलको तयारी जुसमा कर बढाएको छ । विभिन्न प्रकारका जुसमा प्रतिलिटर १३ रुपैयाँ रहेको अन्तःशुल्क ५० पैसाले बढेर १३ रुपैयाँ ५० पैसा पुर्याइएको छ । यस्तै आइसक्रिम र खानायोग्य आइसमा पनि अन्तःशुल्क बढाएर २० बाट ३० पुगेको हो ।
यस्तै सुर्तीरहित पान मसलाको अन्तःशुल्क प्रतिकिलो ८५० बाट बढाएर ८७५ रुपैयाँ पुर्याएको छ । सुर्तीरहित सुगन्धित सुपारीको अन्तःशुल्क प्रतिकिलो ३ सय ६५ बाट बढाएर ३ सय ७५ रुपैयाँ पुर्याएको छ ।
अल्कोहल नभएको बियरको अन्तःशुल्क प्रतिलिटर ३५ रुपैयँबाट ४५ रुपैयाँ बनाइएको छ । यस्तै इनर्जी ड्रिंक्सको अन्तःशुल्क प्रतिलिटर २ रुपैयाँ बढेको छ । हाल प्रतिलिटर ५० रहेकोमा अब ५२ रुपैयाँ पुगेको छ ।
फलामे छडमा करका दर हेरफेर
आगामी बजेटमार्फत सरकारले फलामे छडको कच्चा पदार्थमा लाग्ने करको दर परिवर्तन गरेको छ । छडको कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार बढाएर एकबाट २.५ प्रतिशत बनाइएको छ । बिलेटमा लाग्दै आएको भन्सार भने यथावत् छ ।
अहिले यसमा पाँच प्रतिशत कर लाग्छ । तर बिलेटमा लाग्दै आएको अन्तःशुल्क भने हटाइएको छ । अहिले बिलेट आयातमा प्रतिटन दुई हजार पाँच सय रूपैयाँ अन्तःशुल्क लाग्दै आएको छ । स्पन्ज आइरन आयातमा अन्तःशुल्क परिवर्तन भएको छैन ।
घट्यो
– औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु
–आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूल
– स्टिल मिल्क क्यान
– वनमारा, पात पतिगंरबाट बन्ने पिलेट
–नुन
–इलेक्ट्रिक हिव्ल चियर
–अपांग भएका व्यक्तिले प्रयोग गर्ने कमोड चियर
–हाइड्रोलिक टर्वाइन
–भाँडा माझ्ने वा धुने यन्त्र
–कपडा बुन्ने यन्त्र
–विद्युतीय ट्रान्सफर्मर
बढ्यो
–मदिरा, वियर
– बिँडी, चुरोट, सिगार, सूर्ती , गुट्खा, पाम मसला
–विद्युतीय गाडी
– पेट्रोल ,डिजेल
–दश लाख भन्दा बढी मूल्यका सूनका गरगहना, हिरा मोती,पत्थर
–विलासिता शुल्क
–पर्यटन शुल्क
प्रतिक्रिया