ताप्लेजुङमा खोलाले गाडी बगायो, पाथीभरा जाने सडक अवरुद्ध

आइतबार, ०२ असार २०८१
ताप्लेजुङ / फुङलिङ नगरपालिका-९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्बरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यही बेला आएको लेदोले बगाएर १५ मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए । गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल रहेका छन् । पौडेलका अनुसार खोलाले नै गाडी किनारामा पुर्‍याएको थियो । यता, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटर बाटोमा झरको पहिरोले को१झ २९५८ नम्बरको बोलेरो गाडी पुरिएको छ । पुरिएको गाडीलाई जेसीबीको सहयोगमा निकालिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । चालक कुमार भट्टराई भनें सकुसल रहेका छन् । गाडीमा चालक मात्रै रहेका थिए । यहाँको पहिरोले पाँच वटा बिजुलीका पोल, काफ्ले पाटीबाट सेवारो चोकसम्म ल्याएको खानेपानीको तीन क्वायल पाइप समेत पूर्ण रुपमा क्षति गरेको स्थानीयले बताएका छन् । यहाँको सार्वजनिक शौचालय र आसपासमा रहेका घरहरू समेत पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । जोखिमका घरहरूलाई सुरक्षित हुन सल्लाह दिएको रावलले बताए। अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा रहेको र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको रावलले बताए । ताप्लेजुङमा बुधवार देखी लगातार वर्षा भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार