कुकुरलाई तड्पाउँदै हत्या गर्ने तीन जना प्रहरी नियन्त्रणमा

सोमबार, ०३ असार २०८१
इलाम :  कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन युवा प्रहरीको नियन्त्रणमा छन् । कुकुरलाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको हो । पशु कल्याण सङ्घ काठमाडौँले दिएको जाहेरीको आधारमा उनीहरूलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी प्रकाश जवेगुले जानकारी दिए । भिडियो बनाउने हेतुले ती युवकहरूले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो । जुन अहिले हटाइएको छ । ‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण सङ्घकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरूलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनै पर्छ ।’ सङ्घले काठमाडौँबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो । के हुन्छ सजाय ? नेपालको प्रचलित कानुनले कुनै पनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशु प्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । कानुन विज्ञ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा पनि यसको उजुरी दिन मिल्छ । कुकुरको हत्या मात्र होइन, उनीहरूलाई कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन ।यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो । ‘उल्लेखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ’ अधिवक्ता श्रेष्ठ बताउँछन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार