एउटै गाउँबाट एक वर्षमा सय परिवारले छोड्छन् गाउँ

विहीबार, ०६ असार २०८१
इलाम / पछिल्लो समय एउटा गीत चर्चामा छ । त्यो हो 'राई माइलाले गाउँ छोड्यो रे' । हो । राई माइलाले मात्र हैन गाउँका धेरै युवाले गाउँ छोडिसके कति छोड्न तयार छन् । राई माइला त पात्र मात्र हुन् । अस्थायी या स्थायी रूपमा नै गाउँ छोड्ने युवा मात्र हैन बृद्धबृद्धा र बालबालिका समेत उत्तिकै सङ्ख्यामा छन् । बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले गाउँबाट सहर र पहाडबाट तराई बसाइसराइ बढ्दो छ । यस्तै कारण गाउँ रित्तिने सम्भावना समेत छ । यस्तै अवस्थामा हरेक जिल्लाका पहाडी इलाकामा हुन थालेका छन् । इलामबाट समेत धेरैले गाउँ छोडे । अधिकांश परिवार तराई झर्ने गरेका छन् । कतिपय जिल्लाकै बजारसम्म समेत बसाई सरेर जाने क्रम बढ्दो छ ।
इलामको फाकफोकथुम गाउँपालिका पनि छ । फाकफोकथुममा पछिल्लो ११ महिनामा ९८ जनाले बसाइसराइ गरेर अन्यत्रै गए । फाकफोकथुमबाट चालु आर्थिक वर्ष २०८० साउन १ देखि जेठ मसान्तसम्म ११ महिनामा ९६ परिवारका दुई सय ९८ जनाले गाउँ छोडेका छन् । गाउँपालिकाको प्रतिवेदन अनुसार ७ वटा वडामध्ये सबैभन्दा धेरै वडा नम्बर १ बाट ६८ र थोरै ६ बाट १९ जना बसाइसराइ गरेका छन् । ११ महिनामा वडा नम्बर २ बाट ५४ जना, ३ बाट ३७ जना, ४ बाट ४४ जना, ५ बाट ३९ जना र ७ बाट ३७ जनाले गाउँ छाडेका छन् ।
सो अवधिमा १४ परिवारका ४३ जना मात्र बसाइसराइ गरी फाकफोकथुममा आएका छन् । सो अवधिमा वडा नम्बर १ मा ७ जना, २ मा १८ जना, ६ मा ८ जना र ७ मा जना आएका छन् । अन्य वडामा आएका छैनन् । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले पैसा धेरै कमाएर बसाई सरेर जाने प्रवृत्ति बढेको बताए । अध्यक्ष खनालले बसाइसराइ रोक्न पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरेको भए पनि बताए । स्वास्थ्य र शिक्षा राम्रो भएमा नागरिक गाउँ बस्छन् भन्ने बुझाई गाउँपालिकाको छ । साथै कृषिमार्फत रोजगारी सिर्जना गर्ने योजना समेत अघि बढाइएको अध्यक्ष खनालले बताए । यस्तै समस्या प्राय पालिकामा छ । कतिपय वडाले बसाई सराई रोक्न कार्यक्रम नै ल्याएका छन् तर प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार