भोजपुर -भोजपुर नगरपालिकाको नवौँ नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१-०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार एक रुपैयाँ बरावरको बजेट सार्वजनिक गर्दै नगरसभा आज सम्पन्न भएको हो ।
नगरपालिकाका मेयर कैलाशकुमार आलेले आयतर्फ सङ्घबाट प्राप्त १० करोड ४६ लाख, राजस्व बाँडफाँडबाट १० करोड १५ लाख , सशर्त अनुदान सङ्घबाट ३३ करोड ९० हजार रहेको सभामा प्रस्तुत गरेका थिए ।
यस्तै समपूरक अनुदान एक करोड, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ६४ लाख ११ हजार, सवारी साधन करको राजस्व बाँडफाँडबाट एक करोड १२ लाख ७६ हजार, प्रदेश सर्शत अनुदान एक करोड ४९ लाख २२ हजार, प्रदेश समपूरक अनुदानको ९८ लाख, आन्तरिक राजस्व तर्फको अनुमानित आय चार करोड ४० लाख गरी आगामी वर्षका लागि ६३ करोड २५ लाख ९९ हजार एक रुपैयाँ बरावरको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए।
यस्तै कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक श्रोत समिति, सामाजिक विकास समिति, अर्थ तथा सार्वजनिक लेखा समिति, सुशासन तथा स्थानीय सेवा समिति र विधायन समिति तर्फ गरी २१ करोड ८७ लाख ८७ हजार एक रुपैयाँ, वडागत बजेट तर्फ चार करोड ९० लाख तथा सर्शत अनुदान सङ्घ ३३ करोड ९० हजार, समपूरक अनुदान एक करोड, प्रदेश सर्शत अनुदान एक करोड ४९ लाख २२ हजार, प्रदेश समपूरक कोषको ९८ लाख गरी कुल बजेट बरावरको रकम व्यय तर्फ खर्च हुने पनि नगरसभामा उनले उल्लेख गरे ।
नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रमहरूमा कृषि, पशुपन्छी विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, पर्यटन, सहकारी, युवा तथा खेलकुद, बन तथा वातावरण विशेष प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले बताए ।
नगरसभामा उपप्रमुख निर्मला शेर्पाले आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक प्रस्तुत गरेका थिए।
प्रतिक्रिया