आवास सहित सामुदायिक विद्यालयको व्यवस्थापन 

बुधबार, १२ असार २०८१
इलाम / जिल्लाको माइजोगमाई गाउँपालिका वडा ३ मा रहेको माङचोक गाउँका भगीरथ रामदाम रोजगारीको सिलसिलामा सूर्योदय नगरपालिका क्षेत्रमा बस्ने गर्छन् । उतै काम गर्दा आफ्नो छोरालाई समेत आफैसँग राखेर प्राथमिक विद्यालय पढाउँदै आएका थिए । तर हिजोआज गाउँकै पुरानो विद्योदय आधारभूत विद्यालयको पढाईको स्तर बढ्दै गएपछि उनले छोरालाई गाउँकै विद्यालयमा भर्ना गरेका छन् । आमा नभएकाले भाउजूको संरक्षणमा विद्यालय जान पाएकोमा विद्यार्थी पनि दङ्ग छन् । आफू बेला बेलामा घर आउँदा छोराको रेखदेख गरेको र लगनशील भएर पढेको अभिभावक रामदामको भनाइ छ । गाउँमा पढ्न छाडेर अन्यत्र गएका र विपन्न वर्गका बालबालिका अहिले यो विद्यालयमा पढ्न थालेका छन् । यहाँका मानिसहरू धेरै जसो बसाई सरेको कारणले गाउँमा न्यून आय भएका मानिसहरू धेरै सङ्ख्यामा बसोबास गर्ने गरेका छन् । हुने खानेले निजी विद्यालयमा महँगो शुल्क तिरेर पढाउने गरेकोले विपन्न वर्गका विद्यार्थीहरू पनि पढ्नकै लागि अन्य गाउँमा जाने गरेका थिए । पहिले पहिले चन्दा उठाएर चलाएको र  शिक्षकहरू पनि आफ्नै पैसाले राखेर सञ्चालन गरेको विद्यालय नाजुक अवस्थामा पुगेको थियो । मानिसहरू बसाई जाँदा जनसख्या कम भएकाले बन्द हुनै लागेको विद्यालय अहिले जुरमुराउन लागेकोमा स्थानीय वृद्ध खगेशवर दुलाल खुसी व्यक्त गरे । उनले विद्यालयको भविष्य राम्रो देखेपछि आफ्नो तीन रोपनी जग्गा विद्यालयलाई दान गरेका छन् । गाउँकै पुरानो सामुदायिक विद्यालय भएर पनि करिब करिब बन्द हुन लागेको विद्योदय आधारभूत विद्यालयको मुहार हिजो आज फेरिएको छ । विद्यालयमा कपुरी पाइला नामक संस्थाले सहयोग जुटाएर छात्र बासको व्यवस्था गरेको छ । यस्तै विद्यालयमा पढाइको स्तर वृद्धि भएकाले गाउँ छाडेर अन्यत्र पढ्दै आएका बालबालिका यही विद्यालयमा फर्किएका छन् । प्रेमेजुङका होम बहादुर पौडेलले पनि आफ्नो नानी छात्रावासमा राखेर पढाएका छन् । उनले छात्रावासमा बसेर पढ्न पाउँदा घर जान बच्चाले नमानेको बताए । विद्यार्थी घटेर १७ जना पुगेका थिए । विद्यालय अन्यत्र गाभिने सम्भावना थियो । तर अहिले नामसालिङ सामुदायिक विकास केन्द्र ९एनसीडीसी०  कपुरी पाइला र माथिल्लो जोगमाई जलविद्युत आयोजनाको सहयोगले विद्यालयको स्तर बढेको छ । विद्यालयमा विद्यार्थीको सङ्ख्या ४० पुगेको प्रधानाध्यापक यमुना पोख्रेल बताउँछिन्। वडा सदस्य  प्रेम बहादुर तामाङले समुदायको समेत सहयोगमा विद्यालयको भविष्य निर्माणमा लागेको बताए । नामसालिङ्ग सामुदायिक विकास केन्द्र, कपुरी पाइला र माथिल्लो जोगमाई जलविद्युत आयोजनाको सहयोगले विद्यालयमा कम्प्युटर, इन्टरनेट र विद्यालयमा आवास व्यवस्थापन भएको छ । आवासमा चाहिने सम्पूर्ण खाद्यान्न, लत्ता कपडा, लगायतका सामग्री व्यवस्था गरिएको छ । अहिले दश जना विद्यार्थी आवासमा बसेर अध्ययन गरिरहेका छन् । आवासमा बस्ने विद्यार्थीहरूको पढाइ पनि राम्रो भएको यहाँका विद्यालयले जानकारी दिएको छ । टाढा टाढाका विद्यार्थीहरू विद्यालयको आवासमा बसेर अध्ययन गरिरहेका छन् । भौगोलिक कठिनाइले पनि विद्यालयमा विद्यार्थीको पहुँच नहुने स्थितिलाई मध्यनजर गरी आवास व्यवस्थापन गरिएको हो । आवासमा बसेर निःशुल्क अध्ययन गर्न पाउँदा विद्यार्थीहरू छुट्टीमा समेत घर जान मान्दैनन् । उनीहरूका अभिभावकहरू कर लाएर विद्यार्थीलाई घर लगेर पुन स्कुल लागेपछि विद्यालयमा ल्याउँछन् । आवासमा सहयोगी मनमाया नेपालले विद्यार्थीहरू लगनशील भएर आवासमा पढेको बताउँछिन् । विद्यालयमा पढाइको स्तर वृद्धि भएको र आवासको समेत व्यवस्था भएकाले विद्यार्थीहरूको सङ्ख्या बर्सेनि बढ्न थालेको छ । तर पनि विद्यालयमा भौतिक अवस्था अझै नाजुक रहेको छ । कक्षा कोठाको अभावमा विद्यार्थीहरू विद्यालयको कार्यालयमा नै पढाउनु पर्ने बाध्यता रहेको पाइएको छ । यसका लागि सानो सहयोगले नपुग्ने भएकाले यसको व्यवस्थापन जरुरी देखिएको कपुरी पाइलाका हरिबाबु न्यौपाने औल्याउछन् । "हामीले दिएको विद्यालयका लागि नगण्य भएको छ यसलाई अझै व्यवस्थापन गर्न लागेका छौँ ।" उनले भने । विद्यालयको आवास तत्कालका लागि स्थानीयको पुरानो घरमा व्यवस्थापन गरिएको छ । यहाँ नयाँ आवासको लागि पहल गर्नुपर्ने आवश्यकता रहेको छ । यस्तै विद्यालयको शौचालय र अन्य कक्षाकोठा समेत व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ । नमुना विद्यालयको रूपमा सञ्चालन गर्ने प्रयास स्वरूप विद्यालयको व्यवस्थापनमा सहयोग गरेको एनसीडीसीका टीमलीडर हिराकाजी घले बताउँछन् । विद्यालय सँगै पछाडि परेको माङचोक गाउँलाई हराभरा र नमुना गाउँ बनाउन स्थानीय संस्थाहरू जागरूक हुन थालेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार