रोङ प्रतिभाको खोजी : १५ जना फाइनलमा प्रवेश

मंगलबार, १८ असार २०८१
  रोङ / रोङ गाउँपालिकाले दूर दराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम "रोङ गट ट्यालेन्ट" मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँचरपाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीन वटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर, अनीश राई, तिलकराज कोइराला, तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायन विधातर्फ सौगात सुब्बा, हर्कमान सुन्दास, एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका छन् । नृत्य विधामा निरुता राई, प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेको समितिले जनाएको छ । "रोङ गट ट्यालेन्ट" को फाइनल प्रतिस्पर्धा आगामी शनिवार हुने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । फाइनल रोङ-३ स्थित पाम्कोल सहकारी भवनमा आयोजना गरिने उनले बताए । प्रत्येक विधामा विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने उनले बताए । 'यस वर्षको प्रतिस्पर्धामा रोङ गाउँपालिकाका विभिन्न प्रतिभावान् कलाकारहरूले भाग लिएका छन्। फाइनलमा ५ जना उत्कृष्ट प्रतिभाको तीन वटा विधा प्रतियोगीहरूबिच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ,' अध्यक्ष स्याङ्बोले भने । आयोजक समितिले फाइनल प्रतिस्पर्धामा उपस्थित भएर कलाकारको हौसला बढाउन सबैलाई आह्वान गरेको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि विभिन्न टेलिभिजन च्यानल र अनलाइन प्लेटफर्महरूबाट गरिने आयोजकले जनाएको छ । रोङ प्रतिभा खोजीले गाउँमा लुकेर रहेको धेरै प्रतिभाको पहिचान गरी उजागर गर्न सफल भएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । 'सम्पूर्ण प्रतियोगी कलाकारलाई उच्च मनोबलका साथ निरन्तर मिहिनेत गर्न आग्रह गर्दछु । साथमा स्थानीय सरकार हुनेछ,'उनले भने । यो कार्यक्रम जिल्लाकै लागि स्थानीय तहमा भएको पहिलो पटक हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार