जति लगानी गरे पनि सुध्रिएन सडकको अवस्था

मंगलबार, ०१ साउन २०८१
इलाम / मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिकामा ९ माइखोला माथिको सडकमा जति लगानी गरे पनि अवस्था सुध्रिएको छैन । झापा हुँदै इलाम सहित पाँचथर र ताप्लेजुङ जोड्ने सडकका धेरै क्षेत्रमा खाल्डाखुल्डी त छन् नै माईखोला – राजदुवाली खण्डको सडक भास्सिने क्रम वषौँदेखी रोकिएको छैन । डिभिजन सडक कार्यालय इलामले करोडौँ रुपैयाँ खर्चिएर नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको काम गरेपनि यो सडकमा लगानी बालुवामा पानी सरह देखिएको छ । बारम्बार सडक भास्सिएपछि राजदुवालीेमा एङ्करिङ प्रविधिबाट काम गरिएको थियो । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलो पटक मेची लोक मार्गको राजदुवाली खण्डमा एङ्करिङ गरिएको हो ।यसले माटो भास्सिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट रोक्ने भनिए पनि टिक्न सकेन । ठुलो रकम खर्चेर सडक मर्मत गरे पनि राजदुवालीदेखि भन्ज्याङसम्म करिब ३ किलोमिटर कालोपत्रे सडक खण्ड लथालिङ्ग बनेको छ । सडक भास्सिएर सडकको आधाभन्दा बढी भाग नै बिग्रिँदा लोक मार्ग एकतर्फीजस्तो मात्रै भएको इलाम नगरपालिका वडा न ९ का वडा अध्यक्ष गोपाल चौहानले बताए । यता कालोपत्रे जीर्ण हुँदा सवारी साधन दुर्घटनाको जोखिम बढेपछि सडक मर्मतका लागि पहल सुरु गरिएको छ । सडक जति मर्मत गरे पनि जोखिम घट्ने छाँट देखिँदैन । मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भए पनि भास्सिने क्रम नरोकिएपछि रुट नै परिवर्तन गर्नुपर्ने माग हुन थालेको छ । २०५३ सालमा भास्सिन सुरु गरेको सडकको माईखोला माथिल्लो खण्डको ३ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त भएको हुँदा जोखिम बढेको हो । पछिल्लो समय यस सडकमा माटो र ढुङ्गा लगाएर थिच्ने काम भइरहेको छ । यसले दीर्घकालीन समाधान हुँदैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार