कांग्रेस–एमाले गठबन्धको नयाँ सरकार गठन भइसकेपछि माओवादी केन्द्र र नेकपा एस विपक्षी दलको हैसियतमा छन्। कांगे्रस–एमाले सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने गरी सक्रियता दिन मोर्चा ब्युँताइएको हो। पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमालेसहित करिब दुई तिहाईको गठबन्धन भइसकेको छ। सुरुमा कांग्रेसलाई दबाबमा राख्न, सरकारलाई बलियो बनाउन दाहालले माओवादी केन्द्र, नेकपा एस, जसपा नेपाल र संसद्बाहिर रहेको नेकपा मिलेर मोर्चा बनाएका थिए। अहिले जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा बनेको जसपा सरकारमा सहभागी छ।दाहाल नेतृत्वको सरकारले पार्टी फुटाइदिएको भन्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समूह रुष्ट छ। असार २८ गते दाहालले संसद्मा मागेको विश्वासको मतसमेत यादव समूहले दिएको थिएन । कांग्रेस–माओवादी केन्द्र गठबन्धनका बेला सक्रिय मोर्चा फागुन तेस्रो साता एमालेसँग समीकरण बनेपछि निष्क्रिय थियो। माओवादी केन्द्र र नेकपा एस सरकारबाट बाहिरिएपछि समाजवादी मोर्चा स्वतः सक्रिय हुने नेताहरूले जनाउँदै आएका थिए। अघिल्लो समीकरणमा रहँदै विभाजन भोगेको जसपा नेपाल भने मोर्चाबाट बाहिरिएको छ। मंगलबारको बैठकमा उपेन्द्र यादव सहभागी भएनन्। जसपाका दुवै खेमाले दाहाल सरकारलाई विश्वासको मत नदिएपछि मोर्चामा यादव र राईको सहभागिता भएन। २०८० असार ४ मा घोषणा भएको मोर्चाले ‘संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने प्रमुख उद्देश्य’ लिएको थियो। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने’ प्रमुख उद्देश्यमा उल्लेख छ। वाम झुकाव राख्ने दलहरू मिलेर मोर्चालाई अघि बढाइएको थियो। ‘जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोहलगायत विभिन्न समुदायले गरेका आन्दोलनबाट विकसित २०६२–६३ सालको जनक्रान्तिका उपलब्धिस्वरूप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागत विकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवं सामाजिक न्यायसहितको अग्रगामी रूपान्तरण तथा नेपाली विशेषताको समाजवादको लक्ष्य प्राप्तितर्फ दृढतापूर्वक अगाडि बढ्ने संकल्प’ गरे पनि त्यतिबेला यो मोर्चा प्रमुख प्रतिपक्षमा रहेको दल एमालेप्रति आक्रामक भएको थियो। दाहालले प्रधानमन्त्री भएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको मुद्दालाई प्राथमिकताका साथ उठाएका थिए। प्रधानमन्त्री छाड्ने बेलामा पनि दाहालले ओलीविरुद्ध संसद्मा दिएको अभिव्यक्ति निकै आक्रामक थियो। नीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्न तथा राष्ट्रिय राजनीतिमा पश्चगामी, यथास्थितिवादी र अग्रगामी राजनीतिक प्रवृत्ति विद्यमान रहेको वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यकता छ,’ मोर्चा गठन गर्दा सभामा नेताहरूले भनेका थिए। आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया