काठमाडौँ : सिन्धुलीबाट बेपत्ता भएका १६ मध्ये सुजता हायु र उनका श्रीमान आयूष श्रेष्ठ तीन दिनपछि काठमाडौँमा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार उनीहरू हाल काठमाडौँमा बस्दै आएका छन् र अहिले प्रहरी सम्पर्कमा छन् ।
डिएसपी सुवेदीले भने, ‘सुजता र आयूष केही महिनादेखि काठमाडौँमै बस्दै आएका रहेछन् । उहाँहरू अहिले हाम्रो सम्पर्कमा आउनुभएको छ ।’
सुजता हायुको नाम गाउँलेहरूले बेपत्ता सूचीमा समेटे पनि प्रहरी अनुसन्धानले उनी पहिल्यै काठमाडौँ गइसकेको प्रमाणित गरेको हो।
सुजता हायुले प्रहरीलाई परिवारसँग सम्पर्क हुन नसकेको जानकारी दिएकी छिन् । यद्यपि बाँकी परिवारका सदस्यहरू अझै पनि सम्पर्कविहीन छन् ।
यसअघि तीन दिनअघि रामेछाप क्षेत्रमा उनीहरूको मोबाइल लोकेसन देखिएको थियो । त्यसयता प्रहरीले खोजी कार्य तीव्र बनाउँदै आएको छ ।
सिन्धुली र रामेछापको संयुक्त प्रहरी टोलीले हराइरहेका अन्य व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन खोजी जारी राखेको छ ।
प्रहरीले उनीहरू सबै सकुशल रहेको पुष्टि गर्न र बेपत्ताको कारण पत्ता लगाउन अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया