‘मैले दोस्रो पटक केही गरेको छैन,’ सुरेन्द्रले भने, ‘पल्टन पनि एक पटक भिडें, असफल भएँ, छोडिदिएँ । एमबीबीएसमा छात्रवृत्ति पनि पहिलो पटकमै पाएँ । उत्तीर्ण हुन पनि दोस्रो पटक पर्खनु परेन । अहिले लोक सेवा पनि पहिलो पटकमै उत्तीर्ण गरें ।’ करारको जागिर नवीकरण हुन पनि सक्ने र नहुन पनि सक्ने भएकाले उनले अस्पतालमा काम गर्दै लोक सेवाको तयारी गरेका थिए । एमडी गर्ने उद्देश्य बोकेका उनलाई ताप्लेजुङमै विपन्न परिवारले पाउने गरी ‘पुअर प्यासेन्ट फन्ट’ खोल्ने चाहना छ ।
जुन काम उनीहरूले पहिला मणिपाल अस्पतालमा गरेका थिए । ‘यहाँ धेरैले रेफर गरेको बिरामीलाई उपचारमा लान आर्थिक छैन भनेर घर फर्काएका छन्,’ सुरेन्द्रले थपे, ‘एकरदुई रुपैयाँ भए पनि सहयोग गर्न पाए हुने थियो भन्ने लागेको छ ।’ उनको अर्को चाहना कपडा बैंक खोल्ने छ । ‘कपडाहरू धोएर सफा बनाएर लगाउँदा हुन्छ, त्यो संस्कारको विकास यहाँ गराउनु छ,’ उनले थपे । स्कुलहरूले सहयोग गरे लैंगिक हिंसाविरुद्धको अभियान चलाउने चाहना पनि छ उनलाई ।
प्रशिक्षण लिएका बेला भरतपुर अस्पताल चितवनमा एकै रात आठ जनासम्मको डेलिभरी शल्यक्रिया गरेका सुरेन्द्रलाई ताप्लेजुङमा जुम्ल्याहा बच्चाको शल्यक्रिया गरेको परिवारका सदस्यले दिएको खुसी अविस्मरणीय छ । ‘गाउँमा गएका बेला जुम्ल्याहा बच्चा देखें । जिस्क्याउन मन लागेर चलाउँदै थिएँ । उहाँको अभिभावकले तपाईंले नै अपरेसन गरेको भन्नुभयो । मैले त भुलिसकेको रहेछु । मलाई त्यो साह्रै खुसीको दिन थियो,’ सुरेन्द्रले भने ।
उपचारमा क्रियाशील भइरहँदा राजनीतिक व्यक्तिबाट आउने दबाबले भने तनाव दिने गरेको अनुभव छ सुरेन्द्रसँग । यस्तै प्रसंग सुनाउँदै सुरेन्द्रले भने, ‘एक पटक अस्पतालमा उपचार गराउन आएका एक जना बिरामीले बोल्नु भनेर फोन दिए । फोनमा बोल्ने मान्छे राजनीतिकर्मी रहेछन् ।
दुई छोरा र दुई छोरीमध्येका जेठा उनलाई केटी पाए विवाह गरिहाल्ने चाहना छ । ‘बुबाआमाले पनि हेर्नुभएको छैन । तैंले ल्याउनु, भित्र्याउँछौं भन्नुभएको छ । पढेको र बुझ्ने खालको भए विवाह गरिहाल्ने योजनामा छु,’ सुरेन्द्रले भने । विवाहका लागि उनलाई मेडिकल क्षेत्रकै चाहिन्छ भन्ने पनि छैन ।
अहिले डाक्टर भएपछि पल्टनमा फेल भएको कारण पत्ता लागेको छ । उनले कसरतहरू लगातार गरिरहे । त्यतिबेला उनको पिसाबमा समस्या भयो र रगत देखियो । तर त्यही कारणले उनी डाक्टर बने, विदेशिनबाट रोकिए । स्वदेशमा गरिब दुःखीको सेवामा जुटिरहेका छन् ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया