ओखलढुङ्गा : विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईलाई बालकको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीसमक्षको बयानमा आरोपित राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
बालक जन्मेदेखि रोइरहने, दिक्क लगाउने गरेकाले हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी निरीक्षक कार्कीले बताए ।
गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका–८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको थियो ।
अनुसन्धानका क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका–४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा हिमाल राई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
दिपकुमारीलाई प्रहरीले सोही दिन पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया