ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङमा हालसम्म बहत्तर प्रतिशत बढी धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार हालसम्ममा कुल ७२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
ताप्लेजुङमा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि हालसम्म ७२.४ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
यस वर्ष पर्याप्त पानी परेको भए पनि किसानले ढिलो गरी रोपाइँ सुरु गरेको बताइएको छ ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरका अनुसार असार १५ सम्ममा २९ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
बाँकी त्यसपछि धान रोपाइँ भएको प्रमुख थापा मगरले बताए ।
पछिल्लो समय तल्लो बेँसी तथा औल क्षेत्रमा रोपाइँ हुँदै आएको छ ।
मकै रोप्ने (छर्ने) समयमा लामो खडेरी परेपछि मकै छर्न ढिलो भएको र मकै पाक्नलाई पनि ढिलाइ भएका कारण धान रोपाइँ ढिलो भएको किसानले बताएका छन् ।
औल क्षेत्रमा मकै खेती निकालेपछि मात्र रोपाइँ गर्ने गरिएकाले अहिले धमाधम रोपाइँ भइरहेको छ ।
औल भेगका लागि रोपाइँ गर्नलाई साउन दोस्रो सातासम्म समय ढिलो नहुने पनि स्थानीय किसान बताउँछन् ।
साउन महिनाभर रोपेको धान बालीका लागि सिँचाइको अभाव नभएमा उत्पादनमा कुनै कमी नआउने पनि किसानको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका अधिकांश किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान बाली लगाउने गरेका छन् ।
प्रतिक्रिया