दमक–चिसापानी सडकको ठेक्का तोडिएपछि माङसेबुङलाई समस्या

शुक्रबार, ११ साउन २०८१
इलाम / ठेक्का लागेर पनि समयमा काम नहुँदा दमक–चिसापानी सडकको दुई वटा खण्डको ठेक्का तोडिएको छ । झापाको दमकदेखि इलामको माङसेबुङस्थित चिसापानीसम्मको ३३ किलोमिटर सडक निर्माणको काममा लापरबाही हुँदा प्रत्येक बर्खामा स्थानीयले सास्ती भोग्नु परिरहेको छ । बर्खामा आवतजावत गर्न समेत मुस्किल भएको स्थानीयले बताएका छन् । बर्खाले सडकमा क्षति पुर्‍याएपछि आवतजावत गर्न समस्या भएपछि पछिल्लो समय माङसेबुङ गाउँपालिकाले मर्मतको काम गरिरहेको छ । मर्मतका लागि करिब २२ लाख रुपैयाँ खर्च गाउँपालिकाले गरिसकेको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङले बताए । असार लागेपछि मात्र गाउँपालिकाले १५ लाख लगाएर अवरुद्ध सडक खुलाउने र नागरिकलाई यात्रा गर्न सहज बनाउने काम गरेको उनको भनाई छ । गाउँपालिकाले असार दोस्रो सातायता कच्ची सडकको नाली काट्ने, अप्ठ्यारो ठाउँमा ग्राभेल हाल्ने, पहिरो सोरेर अवरुद्ध सडक खुलाउनेलगायत काम गरिरहेको छ । अविरल वर्षाका कारण दमक–चिसापानीको कच्ची सडक हिलाम्मे हुँदा यात्रामा असहज भएको छ । दमक–चिसापानी सडकको ३३ किलोमिटर ट्र्याक चौडा गर्ने र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा ठेक्का लगाएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले दुई वटा खण्डको ठेक्का तोडिसकेको छ । दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो र तेस्रो खण्ड कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको हो ।यो दुई खण्डको म्याद २ फागुन ०७९ मै सकिएको थियो । त्यसपछि थपिएको दश महिनाको समय गत पुस सकियो । तर, त्यस अवधिमा दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशत मात्र काम सकिएपछि ठेक्का तोडिएको हो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार