मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुदाँ बालिकाको मृत्यु, बाबु–आमा घाइते

आइतबार, १३ साउन २०८१
विराटनगर । मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । बाबु र आमा घाइते भएका छन् । प्रहरीका अनुसार रमिते–टाँडी सडक खण्डअन्तर्गत मिक्लाजुङ गाउँपालिका–१ झण्डे डाँडामा शनिबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । रमितेबाट उर्लाबारीतर्फ जाँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका–१ घर भएकी १३ वर्षीया सुस्मिता धिमालको मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको खुलेको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुस्मिता गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । मोटरसाइकल सुस्मिताका बुवा ३७ वर्षीय सुनील धिमालले चलाएका थिए । दुर्घटनामा सुस्मिताका बाबु सुनीलसहित मोटरसाइकलको पछाडि सवार आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएको डीएसपी बस्नेतले बताए । सुनील र चन्द्रमायाको अवस्था सामान्य छ । उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल सडकबाट लगभग ७० मिटरजति तल झरेको जानकारी प्रहरीले दिएको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार