३४ करोड ८७ लाखमा बने ५९ कुलो

विहीबार, १७ साउन २०८१
इलाम / आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका ५९ वटा पक्की कुलो निर्माण भएका छन् । ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ रुपयाँको लागतमा विभिन्न ठाउँमा ५९ वटा पक्की कुलो निर्माण भएका हुन् । कुलो निर्माण पछि किसानलाई राहत भएको छ । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङले अब सहज भएको बताए । यस वर्ष धान खेती गर्न कुनै समस्या नभएको उनको भनाई छ । वर्षौँदेखि अकासे खेतीमा निर्भर उनी जस्तै धेरै किसानलाई अब सहज भएको छ । माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि उत्तिकै खुसी छन् । राई गाउँ–लाप्चागाउँ–निगाले गाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुने गरी बजुरखोलामा कुलो निर्माण भएको छ । इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।
सूर्योदय नगरपालिकामा रु चार करोड १९ लाख २६ हजार छ सय ३४ को लागतमा १०, इलाम नगरपालिकामा रु छ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा रु तीन करोड ४२ लाख ९४ हजार छ सय ६४ को लागतमा आठ, माई नगरपालिकामा रु चार करोड पाँच लाख ९८ हजार चार सय ७५ को लागतमा सात वटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिए । योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।
सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार एक सय ४२ परिवार लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्विस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरूको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार