विराटनगर । मोरङका अलगअलग स्थानमा तीन जनामाथि धारिलो हतियार प्रहार भएको छ ।
हतियार प्रहारबाट पति–पत्नी (श्रीमान श्रीमती)सहित तीन जना घाइते भएका हुन् । सुनवर्षी र बेलबारीमा भएको घटनामा परेर घाइते हुनेमध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–६ पटियापाडामा ४२ वर्षीय रमेश साह र उनी पत्नी प्रमिला साहमाथि बुधबार साँझ दाउ प्रहार भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले नातामा भतिज पर्ने २५ वर्षीय राजु साहले साँझ ७ बजेतिर दाउले हानेर रमेश र प्रमिलालाई घाइते बनाएको बताए । पूजा कोठाको माटो निकालेको विषयमा विवाद हुँदा राजुले रमेश र प्रमिलालाई दाउले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दाउ प्रहारबाट दाउको र दुवै हातमा गहिरो चोट लागेका रमेशको अवस्था गम्भीर छ । पाखुरामा चोट लागेकी प्रमिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवै जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
डीएसपी बस्नेतका अनुसार दाउ प्रहार गर्ने राजु फरार छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली र मातहतका युनिटबाट प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै, बेलबारी नगरपालिका–३ खेरिया टोलस्थित सम्झना चोकका २८ वर्षीय वीरेन भनिने वीरेन्द्र राईमाथि बाम्फोक प्रहार भएको छ । उनलाई आफ्नै दाजुले बाम्फोक प्रहार गरेर घाइते बनाएका हुन् । वीरन्द्रलाई आफ्नै दाजु ४१ वर्षीय ज्ञानबहादुर राईले राति ८ः२० बजेतिर आक्रमण गरेको डीएसपी बस्नेतले बताए । उनका अनुसार ज्ञानबहादुरले भाइ वीरेन्द्रमाथि मोबाइल फुटाइदिएको आरोप लगाएका थिए ।
त्यही विषयमा विवाद हुँदा ज्ञानबहादुरले वीरेन्द्रलाई बाम्फोकले टाउकोमा हानेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका वीरेन्द्रको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
भाइमाथि बाम्फोक प्रहार गरेर फरार बनेका ज्ञानबहादुरलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ । उनी घरनजिकैबाट पक्राउ परेका हुन् ।
[caption id="attachment_57284" align="aligncenter" width="264"] भाइलाई बाम्फोक प्रहार गर्ने ज्ञानबहादुर राई ।[/caption]
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया