बागलुङ (गलकोट) : बागलुङ बजारमा जेनजी प्रदर्शनका क्रममा काठमाडौँ बस्दै आएका ३८ वर्षीय सौरन किशोर श्रेष्ठको सोमबार मृत्यु भएको छ। सौरनको मृत्यु प्रहरीको गोली लाग्दा भएको हो।
कोरियामा पाँच वर्ष बसाई पुरा गरेर स्वदेश फर्किएका श्रेष्ठले नेपालमा केही गर्ने उद्देश्य राखेका थिए। तर सोमबार दिउँसो आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले चलाएको गोली उनका छाती र घाँटीमा लाग्यो।
घटनास्थलमै ढलेका सौरनलाई तत्काल सिभिल अस्पताल पुर्याइएको थियो। अवस्था गम्भीर भएपछि उनलाई काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो, जहाँ राती चिकित्सकहरूले मृतक घोषणा गरेका थिए।
सौरन बागलुङ उद्योग वाणिज्य सङ्घका पूर्वमहासचिव बसन्त किशोर श्रेष्ठका एक्ला छोरा थिए। उनका परिवारमा पत्नी, पाँच वर्षीय छोरा र अभिभावकहरू रहेका छन्।
केही समयअघि आमा-बुवा अमेरिका गएर फर्किएका थिए। सौरनको निधनसँगै परिवार भावविह्वल बनेको छ।
सौरनले स्वदेशमा काम गर्ने योजना बनाएका थिए, तर देशको वर्तमान अवस्था देखेर फेरि विदेशमा रोजगारी खोज्ने तयारीमा थिए। जेनजी आन्दोलनसँगै उनका सबै सपना अधूरा रह्यो।
परिवारले यस घटनालाई केवल व्यक्तिगत क्षति मात्र नभई दशकौँको मौन पीडा, अन्याय र भ्रष्टाचारविरुद्धको सामूहिक विस्फोटको रूपमा लिएको बताएका छन्। परिवारको आग्रह छ कि राज्यले सौरनलाई शहीदको दर्जा दिने वा सम्मान गर्ने व्यवस्था गरोस्।
प्रतिक्रिया