काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला (क्लोज क्याम्प)ले पहिलो महाधिवेशन आगामी वैशाखमा गर्नेसहित पार्टीलाई १५ बुँदे सुझाव दिएको छ । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशालाले मूलतः संगठन निर्माण, संसद्मा पार्टीको भूमिका, संविधान संशोधनबारे पार्टी धारणा र स्थानीय छाया सरकार गठनको अभ्यासलगायत विषयमा सुझाव दिएको हो ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो । उनका अनुसार कार्यशालाले केन्द्रीय समितिले चाल्नुपर्ने कदमबारे बुँदागत सुझाव दिएको छ । कार्यशालामा करिब ५० जना सहभागी थिए ।
आगामी ३ र ४ असोजमा राष्ट्रिय भेला आयोजना गर्ने, ०८२ को वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्ने, विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने र जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने कार्यशालको सुझाव छ ।
यसबाहेक पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्रलगायत अन्य दस्ताबेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरूपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधनसमेतको कुरा मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने र ‘जनआवाज अभियान’ समिति गठन गरी देशभरिको जनगुनासा तथा मुद्दा संकलन गर्ने र सदनमा उठाउने, साथै कार्यान्वयन भए–नभएको अनुगमन गर्ने कार्यशालाका सुझाव छन् ।
कार्यशालाले विधेयक मन्थन विभागलाई संसद्मा दर्ता भएका विधेयकबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको विधानअनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने, पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी आदि कार्यक्रममा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने सुझाव पनि दिएको छ ।
यसैगरी, पार्टीको आचारसंहिता र मूल्य–मान्यतामा आधारित दस्ताबेज पुनरावलोकन गरी सदस्यहरूबाट प्राप्त सुझावसमेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने, पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश–विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’को अवधारणा लागू गर्ने, ‘देशका गाउँदेखि विदेशका सहरसम्म’का नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने, चरणबद्ध रूपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने र आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी नेता सहजीकरणका लागि सहभागी हुने कार्यशालाको सुझाव छ ।
यस्ता छन् सुझाव- आगामी ३ र ४ असोजमा राष्ट्रिय भेला आयोजना गर्ने- ०८२ को वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्ने- विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने - जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने - पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्रलगायत अन्य दस्ताबेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने- शासकीय स्वरूपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधनसमेतको कुरा मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने - ‘जनआवाज अभियान’ समिति गठन गरी देशभरिको जनगुनासा तथा मुद्दा संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए–नभएको अनुगमन गर्ने - विधेयक मन्थन विभागलाई संसद्मा दर्ता भएका विधेयकबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने- क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको विधानअनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने- पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी आदि कार्यक्रममा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने- पार्टीको आचारसंहिता र मूल्य–मान्यतामा आधारित दस्ताबेज पुनरावलोकन गरी सदस्यहरूबाट प्राप्त सुझावसमेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने- पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश–विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’को अवधारणा लागू गर्ने- ‘देशका गाउँदेखि विदेशका सहरसम्म’का नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने- चरणबद्ध रूपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने - आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्यशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी नेता सहजीकरणका लागि सहभागी हुने आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया