दुई सय पचास विद्यार्थी गायब !

मंगलबार, २२ साउन २०८१
इलाम / गएको चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामेल भएका इलामका दुई सय ६६ विद्यार्थी पूरक परीक्षामा सहभागी नहुने भएका छन् ।
उनीहरूले पूरक परीक्षाका लागि फारम नभरेसँगै मौका पाउँदा समेत सहभागी नभएका हुन् ।
अहिले यी विद्यार्थी के गर्दै छन् भन्ने सम्बन्धित विद्यालय र शिक्षा विकास तथा समन्वय इकाई लाई पनि जानकारी नभएको बताइएको छ ।
चैतको परीक्षामा दुई हजार चार सय १७ विद्यार्थी अनुत्तीर्ण भएका थिए । सात वटै विषयको पूरक परीक्षा दिन पाउने भए पनि पूरकका लागि भने दुई हजार एक सय ५१ परीक्षार्थीले मात्र फाराम भरेका थिए ।
बाँकी विद्यार्थीले किन पूरक परीक्षा दिन चाहेनन् भन्नेबारे विद्यालय र शिक्षा इकाई लाई जानकारी छैन ।
यस पटकको एसइईमा सरकारले हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने बाध्यकारी नियम बनाएको थियो । पूरकमा पनि ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ ।
२०७१ सालपछि अघिल्लो एसइईसम्म मावि तहसम्म अनुत्तीर्ण नहुने शिक्षा नीति थियो ।
यो पटक पुनः अनुत्तीर्ण हुने प्रावधान आएपछि विद्यार्थी ठुलो सङ्ख्यामा अनुत्तीर्ण भएको अनुमान गर्न सकिने हिकाइ प्रमुख डम्बर सुवेदी बताउँछन् ।
विद्यार्थीले पढाइलाई त्यति धेरै महत्त्व नदिएपछि फारम नभरेको हन सक्ने बताइएको छ ।
बुधवार देखी पूरक परीक्षा
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा बुधवार  सुरु हुँदै छ ।
पूरक परीक्षाको व्यवस्थापन तयारी पूरा भएको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाई ले जनाएको छ ।
इलाममा पूरकका लागि सात परीक्षा केन्द्र तोकिएका छन् ।
बरबोटेको अमर मावि, सदरमुकामको आदर्श मावि, सूर्योदयका करफोक विद्या मन्दिर, फिक्कल मावि, माई नगरको कन्काई मावि र देउमाईको भानुभक्त माविलाई गरी सात केन्द्र तोकिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार