दार्चुला : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
उनले आफू उम्मेदवार नहुने निर्णयसहितको पत्र जिल्ला कार्य समिति दार्चुलालाई बुझाएका थिए, जसलाई समितिले सोमबार सार्वजनिक गरेको हो ।
गत मङ्सिर २५ र २६ गते बसेको काँग्रेस जिल्ला कार्य समिति दार्चुलाको बैठकले नेता बडूलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरेको थियो । तर, बैठकमै नेता बडूले मुलुकमा विकसित राजनीतिक परिस्थिति तथा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र प्रदर्शनपछि सिर्जित राजनीतिक–सामाजिक अवस्थालाई ध्यानमा राख्दै आफू चुनावमा नउठ्ने मनसाय व्यक्त गरेका थिए ।
बडूले उम्मेदवारका रूपमा सिफारिस गरेकोमा जिल्ला समितिप्रति धन्यवाद व्यक्त गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले पुस २२ गते निर्वाचन नलड्ने निर्णयसहितको पत्र बुझाएका थिए, जुन पुस २४ गते दर्ता गरिएको थियो । जिल्ला समितिले सोमबार उक्त पत्र सार्वजनिक गरेको हो ।
पूर्वमन्त्रीसमेत रहेका नेता बडूको यस निर्णयपछि दार्चुलामा काँग्रेसको उम्मेदवारीबारे थप छलफल हुने देखिएको छ ।
प्रतिक्रिया