काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्रीसहित ११ जनालाई प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ ।
पूर्वमन्त्री एवं हालका प्रदेशसभा सदस्य (प्रदेश सांसद) बुद्धिकुमार राजभण्डारी सहित पक्राउ परेका हुन् । सोलुखुम्बुका राजभण्डारी सत्तारुढ नेकपा (एमाले)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभाको अघिल्लो कार्यकालमा एमाले कोशी प्रदेशका प्रमुख सचेतक थिए ।
काठमाडौं सिनामंगलस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले राजभण्डारीसहित ११ जनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले होटलमा छापा हानेर जुवाडेलाई पक्राउ गरेको हो ।
राजभण्डारीसहित, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, सोताङ गाउँपालिकाका कार्यपालिका सदस्य उत्तमकुमार राई, कलाकार पुरुषोत्तम शर्मा, अनिष तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, महेश किराती, रवि श्रेष्ठ, राजु महत र माधव थापा पक्राउ परेको एसपी अधिकारीले बताए । पक्राउ पर्नेमध्ये पुरुषोत्तम शर्मा टेलिसिरियल ’सक्किगो नि’ का कलाकार हुन् ।
प्रहरीले जुवा खालबाट १ लाख नगदसहित जुवाडेलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरुको बयान लिइसकेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । स्रोतका अनुसार सत्तारुढ दलका नेता जुवा खालबाट पक्राउ परेपछि छाड्न प्रहरीलाई ठूलो दबाब परेको छ ।
प्रतिक्रिया