धरान : पिण्डेश्वर बाबाधाममा साउन महिनामा पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।
धरान उपमहानगरपालिकाका वडा नं।१४ विजयपुर डाँडास्थित पिण्डेश्वर बाबाधाममा प्रत्येक वर्षको साउन महिनामा लाग्ने बोलबम मेलामा यसवर्षको पहिलो सोमबारदेखि नै बोलबममा पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरूको भीड लागेको समितिका अध्यक्ष विकास बनेपालीले बताए ।
पिण्डेश्वरमा नेपालका अधिकांश र भारतसमेतबाट भक्तजनहरू आउने गरेको उनले बताए । पिण्डेश्वरबारे हिन्दु पौराणिक धार्मिक शास्त्रहरू स्कन्ध पुराण, रुद्राक्षरण्य महात्म्य लगायतमा वर्णन गरिएकाले पशुपतिनाथ मन्दिर भन्दा पुरानो मानिने बनेपालीले जनाए ।
पूजा गर्नको लागि आइतबार साँझेदेखि नै भक्तजनहरू लाइनमा लाग्ने गरेका कारण रसोमबार साँझसम्म नै जल चढाउन आउने उनको भनाइ छ ।
खासगरी बराहक्षेत्र मन्दिरस्थित कोकाह नदीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाउने गरिन्छ । यसमा धेरैजसो विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्ने र अविवाहित युवतीले राम्रो पति पाउँ भन्दै शिवलिङ्गमा जल चढाउने धार्मिक परम्परा रहेको छ । यो साउनमा भने पुरुषहरूसमेत जल चढाउन आएको उनले बताए ।
धरानको मुख्य चोकदेखि विजयपुर डाँडा भरिका पिण्डेश्वर बाबाधाम, दन्तकाली, बुढासुब्बा मन्दिर र पाँचकन्या मन्दिरसम्म यति बेला पहेंलो बस्त्र लगाएका भक्तजनहरूको भीडभाड हुँदा धरान धार्मिक पर्यटकको दृष्टिकोणमासमेत अब्बल रहेको अध्यक्ष बनेपाली बताउँछन् ।
पिण्डेश्वर बाबाधाममा जल चढाउन भक्तजनहरू आएपनि धरानका अन्य मन्दिरहरूसमेत दर्शन गरे चारधाम गए सरह हुने भएको मान्यता रहेकोले सबैतिर भीड भएको धरान १४ का वडाध्यक्ष कृष्ण भट्टराईले बताए ।
सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले पूजा गर्न आएको बताउँछन्, मोरङबाट आएका राजेश साह ।
टाढाटाढाबाट आएका भक्तजनहरू आइतबार नै कोकाहा नदीमा नुहाएर त्यहाँबाट बेलुका नै जल लिएर पिण्डेश्वर बाबाधाम पुगेपछि रातभरि जाग्राम बसेर सोमबार बिहान जल चढाएर घर फर्कने गर्दछन् ।
मनोकांक्षा पूरा होस् भनी कतिपय भक्तजनहरू चतराबाट पैदल हिँडेरै पिण्डेश्वर आउने गर्छन् ।
आज साउनको चौथो अर्थात् अन्तिम सोमबार भएकाले अन्य सोमबार भन्दा बढी भक्तजनहरू आएको समितिले जनाएको छ । यस वर्ष साउनमा चार वटा मात्र सोमबार परेकाले आज अन्तिम दिन भएकोले भक्तजनहरूको भीड लागेको हो ।
खासगरी साउन महिनामा सोमबार शिव भगवानको पुजा गर्ने प्रचलन भएपनि साउन महिनाको सबै दिन पूजा गर्न यहाँ भक्तजनहरूको भीड लाग्ने गरेको समितिले जनाएको छ । हालसम्म करिब पाँच लाख भक्तजनले पिण्डेश्वरको दर्शन गरेको समितिको दाबी छ ।
भारत बिहारको देवघरस्थित वैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो ।
साउन महिना शिवजीको प्रिय महिना भएकाले साउनभरि शिवालयहरूमा शिवभक्तको घुइँचो लाग्ने गर्दछ । वैदिक र पौराणिक कालमासमेत ऋषि मुनि र भगवानहरूले महादेवलाई शान्त, प्रसन्न बनाउनका लागि बोलबम पदयात्रा गर्ने गरेको र बोलपत्रसहित जल अर्पण गर्ने गरेको धर्म शास्त्रीय मान्यता रहेको छ ।
प्रतिक्रिया