रौतहट । रौतहटको सदरमुकाम गौरमा आधुनिक पशु तथा कृषि प्रयोगशाला भवन निर्माण
सुरु भएको छ। गौरका मेयर शम्भु साहको पहलमा निर्माण सुरु भएको भवनको शुक्रवार विधिवत् रूपमा शिलान्यास गरिएको थियो ।
गौर १ तरकारी बजार स्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भइरहेको छ। अगामी २०८२ साल वैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताएका छन् । भवन निर्माणपछि स्थानीय स्तरमै माटो परीक्षण, पोखरीको पानी परीक्षण, विभिन्न प्रकारको बिउ, यार्ला तथा फलफूलमा लाग्ने रोग किराको परीक्षण, मल खाद्य परीक्षण हुने छ ।
त्यस्तै पशु प्रयोगशाला तर्फ गोबर परीक्षण, पशुको रगत तथा पिसाब परीक्षण, पशुको अपरेसन, कृत्रिम गर्भधारण, पशुको अल्ट्रासाउन्ड, एक्स(रे लगायतका सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिने मेयर साहले जानकारी दिएका छन्।सङ्घीय सरकारको कुल २ करोड , ३० लाख ४० हजारको लागतमा निर्माण भइरहेको भवनको ठेक्का सिएम कन्ष्ट्रक्सन जोरपाटी काठमाडौँले लिएको छ।
भवनको भुई तल्लामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोस्रो तल्लामा गेस्ट हाउस रहने जनाइएको छ। प्रयोगशाला निर्माण पछि स्थानीय किसानहरूका साथै जिल्लाभरिका किसानलाई सेवा सुविधाहरू उपलब्ध गराउने योजना रहेको गौर नगरपालिकाले जनाएको छ।
गौर नगरपालिकामा मेयरको जिम्मेवारी पाइदेखिनै शम्भु साह जनमुखी काम गर्दै आएका छन्। उनले शिक्षा स्वास्थ्यका साथै भौतिक पूर्वाधार विकासमा पनि जोड दिएका छन् ।
प्रतिक्रिया