उद्धारमा प्रहरी, सेना र कर्मचारीहरूको खटाइ भने निकै प्रशंसनीय रहेको उनीहरुको भनाइ छ ।भारतको महाराष्ट्रबाट दुईवटा बसभरि यात्रुहरू तीर्थाटनका लागि भैरहवास्थित बेलहिया नाका हुँदै साताव्यापी नेपाल भ्रमणमा नेपाल आएका थिए । ‘उहाँहरू लुम्बिनी घुमेर पोखरा आउनु भएको थियो । पोखराको होटल स्पोर्ट्स र पोखरा इन् होटलमा रहेर दुई दिन घुम्नु भएको थियो’, उनीहरूको भ्रमणमा सहजीकरण गरिरहेका पर्यटन व्यवसायी दुर्गाप्रसाद पाण्डेले भने, ‘पशुपति घुमेर फर्कने भनेर उहाँहरू काठमाडौं जान लाग्नु भएको रहेछ । एउटा बस अगाडि कटिसकेको थियो । पछाडि आएको बस मस्र्याङ्दीमा हाम्फाल्यो ।’ आफूहरू अगाडि पुगिसकेको तर सो बस नआएपछि फर्केर हेर्न आउँदा दुर्घटना भएको थाहा पाएको उनले बताए । आफूहरू घटना भएको पाँच, सात मिनेटभित्रै घटनास्थल पुगेको भन्दै अर्का पर्यटन व्यवसायी अर्जुन खनालले आफूहरूले काठमाडौंस्थित भारतीय दूतावास र यातायातको प्रबन्ध गरेको ट्रान्सपोर्टेसनको कार्यालयमा खबर गरी आफन्तहरूलाई खबर गरिदिन अनुरोध गरेको बताए । भारतीय पर्यटकमा धक्का नेपाल भ्रमणमा आउनेमा सबैभन्दा धेरै भारतीय धार्मिक पर्यटकको संख्या छ । विशेषगरी उनीहरू लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, मनकामनालगायतका मन्दिरमा पूजा गर्न आउने गर्छन् । सोही क्रममा आएको बस सडक दुर्घटना हुँदा ठूलो संख्यामा भारतीय पर्यटकको मृत्यु भएपछि पर्यटनमा ठूलो क्षति हुने पर्यटन व्यवसायीहरूको चिन्ता छ । ‘कहिले जहाज दुर्घटना, कहिले बस दुर्घटना, कतै बाढी, कतै पहिरोले गर्दा विदेशीहरू नेपाल भ्रमण आउन एकदम आनाकानी गरिरहेको अवस्था हो’, पर्यटन व्यवसायी अर्जुन खनाल भन्छन्, ‘बल्लतल्ल अलिअलि भारतीय पर्यटकहरू देखिन थालेका थिए । झन् यही बेला यस्तो दुर्घटना भयो । अब यसले सिधै नेपालको पर्यटन व्यवसायलाई हान्छ । भारतीय पर्यटक आउन कम हुन्छ ।’ नेपालको पूर्वाधार असाध्यै कमजोर रहेको उनको भनाइ छ । उद्धारमा प्रहरी, सेना र कर्मचारीहरूको खटाइ भने निकै प्रशंसनीय रहेको उनको भनाइ छ । अब पर्यटन क्षेत्रमा केही हुन्छ कि भनेका बेला यो दुर्घटनाको खबरले भारतीय पर्यटक स्तब्ध हुने अवस्था रहेको अर्का पर्यटन व्यवसायी दुर्गाप्रसाद पाण्डेको भनाइ छ । ‘एक त यातायातमा प्रकृतिले नै साथ दिएको छैन । अर्कातिर पूर्वाधार पनि त्यस्तै छ । कतिखेर कहाँ पहिरो खस्छ, कतिखेर गाडी नै खस्छ पत्तो छैन’, उनले भने, ‘घण्टौं रोडमा पानी पनि खान नपाई जाममा पर्नुपर्ने अवस्था छ ।’ यस्तो बेला यस्ता घटनाले झन् पर्यटन उद्योग खस्कने उनले बताए ।
प्रतिक्रिया