पाँचथर बम विष्फोट घटना : मृतक दाजु–बहिनीको दाहसंस्कार, ओभाएनन् फालेलुङबासीको आँखा

सोमबार, १७ भदौ २०८१
पाँचथर : बम विष्फोट हुँदा घाइते भएर ज्यान गुमाएका दिप्सन र उनकी बहिनी प्रिन्सा साँवाको शव लिएर शनिवार राति अविभावक र आफन्त घर पुग्दा गाउँभरका सर्वसाधारण रोइरहेका थिए । क्षतविक्षत भएको उनीहरूको अनुहार उघारेर हेरेपछि आफन्तजनका आँसु रोकिएनन । ‘दिप्सन र प्रिन्सालाई तीनदिनअघि घाइते अवस्थामा सदरमुकाम फिदिम पठाएका थियौं, निको भएर आउलान् कि भन्ने आशा थियो । तर कहिल्यै नफर्किनेगरी गएछन,’ आफन्त कल्पना साँवाले भक्कानिदै भनिन् । माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा भेटिएको बम गत बिहीबार खेलाउने क्रममा विष्फोट हुँदा शख्त घाइते भएका दिप्सनको बिहीबार राति नै झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल बिर्तामोड र प्रिन्साको इलाममा निधन भएको थियो । दिप्सन र प्रिन्सा फालेलुङ ५ का दिलीप र पूजा साँवाको छोराछोरी हुन् । ‘उनीहरूको निधनले आमा पूजाको कोख त उजाडियो । कमाउन विदेश गएका बाबाको सपना पनि उजाडियो । यस्तो बज्र कहीँ र कसैला नपरोस् ।’ उनीहरूको घरमा भेला भएका सर्वसाधारण विक्षिप्त हुँदै भक्कानिरहेका थिए । प्रिन्सा र दिप्सनको शव आइतबार घर नजिकै घाटमा दाहसंस्कार गरिएको छ । उनीहरूको अन्त्येष्टि भइरहँदा आफन्त र छिमेकी कसैका आँखा ओभाएनन् । छोरा–छोरीको निधन पश्चात आमा पूजा अर्ध मुर्छित अवस्थामा छिन् । घट्ना थाहा पाएपछि शनिबार मात्रै मात्रै विदेशबाट आइपुगेका मृतकका बुबा दिलीप अझैसम्म दोहोरो बोल्न सक्ने अवस्थामा छैनन् । दिप्सन अध्ययनरत कालिका मावि प्राङवुङका छात्रछात्रा र शिक्षक–शिक्षिका शोक मग्न छन् । गाउँपालिकाले मनाउन आइतबार पालिकाभरीका सामुदायिक विद्यालयमा शोक विदा दिएको अध्यक्ष बीर विक्रम थाम्सुहाङले बताए । सोही विष्फोटमा घाइते भएका फालेलुङ ५ प्राङवुङको डाँडागाउँ टोलका ९ वर्षीय दिप्सन राई अहिलेसम्म निदाउन सकेका छैनन् । घटना भएको चारदिन बितिसकेपनि उनी अझै बेलाबेला झस्किने र चिच्याउने गरेको बताइन्छ । दिप्सन राईसँग खेलिरहेका उनका साथीहरू ११ वर्षीय दिप्सन साँवा, उनकी अढाइ वर्षीया बहिनी प्रिन्सा साँवा र ९ वर्षीय पवन राई घाइते भएका थिए । जसमध्ये दिप्सन साँवा र उनकी बहिनी प्रिन्सा साँवाको बिहीबार राति नै निधन भएको थियो । घाइतेमध्येका पवन र दिप्सनलाई पाँचथर अस्पतालबाट कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको छ । दुवै जनाका शरीरमा बमका छर्रा लागेका छन् । विष्फोट भएको घरको आँगन नजिकै विष्फोट नभएको थप एउटा इम्प्रोभाइज्ड एक्स्प्लोेसिभ डिभाइस (आइइडी) भेटिको थियो । यस्ता डिभाइस प्रेसर कुकर बम र सकेट बम बनाउन प्रयोग हुने नेपाली सेनाले जनाएको छ । जसलाई सुरक्षा निकायले ‘होम मेड’ भनेको छ । उक्त डिभाइस शुक्रबार बिहान नेपाली सेनाको प्राविधिक टोलीले निस्कृय पारेको थियो । बम पड्किएको र भेटिएको घर माओवादी कार्यकर्ता आइतराज केरुङको हो । जहाँ ज्ञानबहादुर राईको परिवार बसोबास गर्छ । केरुङ परिवार भने २०६८ सालदेखि सदरमुकाम फिदिममा बस्दै आएको छ । घाइते भएका पवन ज्ञानबहादुरका छोरा हुन् । अरु तीनजना छिमेकबाट खेल्न आएका बेला बम विष्फोट भएको थियो । नेपाली सेनाका प्रवक्ता गौरबककुमार केसीले उक्त घटनास्थलको प्रकृति हेर्दा विष्फोटक पदार्थ माओबादी सशस्त्र द्वन्दका समयमा लुकाएर राखेको हुनसक्ने बताएका छन् । गृहमन्त्री रमेश लेखकले पनि विष्फोट भएको बम द्वन्दकालकै भएको पुष्टि गरेका छन् । द्वन्दकालमा सो घर माओवादीको सेल्टरकै रूपमा प्रयोग भएको थियो । केरुङ स्वयम् द्वन्दकालका सक्रिय माओवादी कार्यकर्ता भएकाले त्यही बेला बनाएको बम कतै लुकाएर राखिएको र केटाकेटीले भेटेर खेलाउँदा विष्फोट भएको हुनसक्ने स्थानीयको अनुमान छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हेमन्त भण्डारीले पनि अघिल्लो दिन विष्फोट भएको बस्तुमा खिया लागेको भेटिएको र शुक्रबार डिस्पोज गरिएको सामग्री पनि निकै नै पुरानो देखिएको बताए । विष्फोटको घटनापछि सिंगो प्राङवुङका नागरिक त्रासमा छन् । उनले भने, ‘डाँडागाउँ आसपासका घर परिवारमा रुवाबासी चलिरहेको छ ।’ ‘मुलुक शान्ति प्रक्रियामा गएको दुई दशक पुग्न लागि सक्यो, वेवारिसे बम पड्किन छोड्दैनन । त्यो बेला धेरै विष्फोटक पदार्थ लुकाइयो भन्ने सुनेका थियौं, अझै के–के हुने हो,’ त्रासमिश्रित मुद्रामा स्थानीयबासी भन्छन् । स्थानीयले घटनाबारे गम्भीर छानबिन गरि बेवारिसे अवस्थामा बम छोड्नेलाई न्यायिक कारबाही हुनुपर्ने माग राखेका छन् । ‘बारीमा काम गरिरहेका बखत मुस्लोसहित ठूलो आवाजमा बम पड्केको सुनेपछि दौडदै आयौं छोराछोरी विक्षिप्त अवस्था भेटिए ।’ घाइते पवनका बुबा ज्ञानबहादुर राईले भने । वडाध्यक्ष भरत खपाङ्गीले मृतकका अभिभावकलाई उचित क्षतिपुर्ति र घाइतेको उपचार गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार