इटहरी आएर कार्यकर्तालाई रवि लामिछानेले भने - तपाईँको सभापतिले ठगेको छैन

मंगलबार, १८ भदौ २०८१
इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले कोही, कसैलाई ठगी नगरेको बताएका छन् । इटहरीमा जारी रास्वपा कोशी प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् । 'म आफैं दुईपटकसम्म गृहमन्त्री भएको मान्छे हो । अनुसन्धान सम्बन्धी सामान्य जानकारी मलाई पनि छ सामान्य क्लु पाउनेबित्तिकै पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्रेको हो, मैले गल्ती गरेको भए मलाई पनि प्रहरीले पक्रिन्थ्यो होला नि' उनले भने । आफूले गल्ती नगरेको र सोही कारण कुनै पनि रास्वपाका शुभचिन्तकहरूले शिर ननिहुराउनु नपर्ने उनले बताए । रास्वपाको क्रेज सकियो यो पार्टीको पनि काम छैन भन्दै अफवाह फैलाइएको भएपनि वास्तविकता त्यस्तो नभएको बताए । २०८४ मा रास्वपाले बहुमत ल्याउने गरी काम गर्न उनले आफ्ना नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । बैठकमा कोशी प्रदेशका विभिन्न स्थानीय तहबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रतिनिधिहरूसँग सभापति लामिछानेले प्रश्न उत्तरसहितको अन्तरक्रिया समेत गरेका थिए । बैठकमा रास्वपा उपाध्यक्ष डिपी अर्याल, सांसद निशा डाँगी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई रास्वपा कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार