विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी तथा हिमाली जिल्लाहरूलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थलहरूमा उडान सुरु गर्न पहल गरिरहेको बताएका छन् ।
विराटनगरमा आयोजित दोस्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बङ्गलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।
तर त्यो सम्भावना अहिले नदेखिएको उनले प्रस्ट्याए । कोशी प्रदेशमा ११ वटा विमानस्थल रहेको भए पनि एक दुईमा मात्रै उडान भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरु गर्न आग्रह गरिएको बताए ।
यसका लागि निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको र लागत साझेदारी गर्न समेत प्रदेश सरकार तयार रहेको बताए ।
कार्कीले २०८२ साललाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यस अघि नै केही स्थानमा हवाई उडान सुरु गर्ने तयारी भइरहेको बताए ।
कोशी प्रदेशमा सहज घुम्न आउने जनसङ्ख्या भारत र बङ्गलादेशमा गरी ५ करोड बढी रहेको भन्दै उनीहरूलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको समेत उनले बताए ।
कार्कीले भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको भन्दै त्यसलाई हेरेर योजना बनाउन आवश्यक रहेको बताए ।
कोशी प्रदेशले आइटी र कृषि क्षेत्रलाई पनि उत्तिकै महत्त्व दिएको भन्दै मुख्यमन्त्री कार्कीले भने 'हामीले यी दुवै क्षेत्रमा निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अघि बढेको छ । पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको आवश्यकता नै यही हो ।'
प्रतिक्रिया