विराटनगर । विराटनगरको लक्ष्मी सनराइज बैंकमाथि ग्राहकको कागजात दुरुपयोग गरेको आरोप लागेको छ ।
व्यक्तिगत सम्पत्ति विवरणको कागजात अन्य व्यक्तिलाई उपलब्ध गराएर बैंकले बदमासी गरेको आरोप लागेको हो । मोरङको बेलबारी नगरपालिका–३ का प्रतापकुमार थापा र उनका छोरा प्रभाष थापाले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कागजात असम्बन्धित व्यक्तिलाई उपलब्ध गराएर बैंकले आफूहरुलाई फसाएको गुनासो गरेका हुन् ।
विराटनगरको लक्ष्मी सनराइज बैंकमा प्रतापको खाता छ । उनले गाडी किन्न बैंकबाट सन् २०१५ मा ऋण लिँदा छोरा प्रभाषलाई व्यक्तिगत ग्यारेन्टी राखेका थिए । गाडी किन्नलाई लिएको ऋण पनि तिरिसकेका छन् ।
गाडी प्रतापकै नाममा आइसकेको छ ।पत्रकार सम्मेलनमा प्रभाषको कागजात प्रयोग गरेर वीरगन्जको लक्ष्मी सनराइज बैंकबाट अर्कै व्यक्तिले कर्जा निकाल्ने गरेको जानकारी दिइयो ।
प्रतापका अनुसार रामेश्वर सेढाईं क्षेत्रीले छोरा प्रभाषलाई व्यक्तिगत ग्यारेन्टी राखेर बैंकको अर्कैै शाखाबाट २०७७ जेठ १४ मा ४८ हजार ८ सय ६७ र २०७७ जेठ १७ मा २६ लाख ७६ हजार ९ सय ६२ रुपैयाँ ऋण लिएको देखिन्छ ।
बैंकको वीरगन्ज शाखाबाट २ पटकसम्म ऋण निकालिसकेको रामेश्वर फेरि १० करोड रुपैयाँ ऋण लिनलाई स्वीकृति गराउने प्रक्रियामा रहेको पाइएको उनको भनाइ छ ।
बैंकसँग मिलेमतो गरेर रामेश्वरले गत साउन २१ गते १० करोड ‘ट्रमलोन’ लिनका लागि आफूलाई पुनः व्यक्तिगत ग्यारेन्टी राखेर कारबाही प्रक्रिया अघि बढाएको पाइएको प्रभाषको भनाइ छ ।
बैंकको विराटनगर शाखाका कर्मचारीले रकम लेनदेन गरेर आफ्नो सम्पत्ति विवरणको कागजात रामेश्वरलाई उपलब्ध गराएको र उनले वीरगन्ज शाखाबाट पुनः १० करोड ‘ट्रमलोन’ लिन प्रक्रिया अघि बढाएको दाबी प्रभाषले गरेका छन् ।
‘मलाई बैंक ग्यारेन्टी राखेर यसअघि २ पटक ऋण लिइसकेको देखिन्छ । म रामेश्वर सेढाईं क्षेत्रीलाई चिन्दिन । देखेको पनि छैन । हाम्रो पारिवारिक नातासम्बन्धको मान्छे पनि हैन ।
कसरी मेरो कागजात प्राप्त गरेर मलाई नै ग्यारेन्टी राखेर ऋण निकाले र पुनः ऋण निकाल्न प्रक्रिया अघि बढाए भनेर हामी अचम्ममा परेका छौं,’ उनी भन्छन् ।
उनले बैंकका कर्मचारीले कागजात बिक्री गरेका कारण रामेश्वरले सहजै ऋण लिन पाइरहेको आरोप पनि लगाए । ‘विराटनगरको लक्ष्मी सनराइजमा मेरो बुवाको खाता छ । त्यहाँबाट ऋण लिँदा मेरो सम्पत्ति विवरणको कागजात बुझाएको थिएँ,’ उनको दाबी थियो, ‘त्यही कागजात रामेश्वरले हात पारेका हुन् । कर्मचारीले बेचिदिएछन् ।’
प्रतापको घरमा सांग्रिला बैंक भाडामा बसेको छ । प्रभाषका अनुसार कारोबारका क्रममा सांग्रिला बैंकले कर्जा सूचना केन्द्र कमलादी काठमाडौंबाट केही समयअघि मगाएको ‘सीआईसी’ रिपोर्टमा रामेश्वरले यसअघि २ पटक ऋण लिइसकेको र फेरि ऋण लिन प्रक्रिया अघि बढाएको पत्ता लागेको हो । तर, यसअघि कर्जा लिँदा र फेरि लिनका लागि प्रभाषलाई नै व्यक्तिगत ग्यारेन्ट राखेको बताइएको छ ।
‘यो घटनाले म र मेरो परिवार पीडामा छ । सम्बन्धित बैंकसँग कुरा राख्दा पनि सुनुवाइ भएन । हामी सुधार गर्छौैंभन्ने जवाफ मात्रै आयो । कतै नभएपछि हामी न्याय खोज्दै आएका हौं,’ पत्रकार सम्मेलनमा प्रभाषले भने ।
उनी बेलबारी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमेत हुन् । बुझ्ने क्रममा लक्ष्मी सनराइज विराटनगरबाट रामेश्वरको कारोबार वीरगन्जस्थित शाखामा भइरहेको थाहा भएको उनले बताए ।
विराटनगरस्थित बैंकका म्यानेजर सुदीप रायमाझीले आफूहरुबाट गल्ती भएको स्वीकार गरेको दाबी प्रभाषको छ ।
‘म्यानेजरले कर्जा सूचना केन्द्रमा पत्राचार गरेर ‘सीआईसी’ रिपोर्टमा बाँकी रहेका सबै कर्जाहरु हटाउन लगाउँछौं भन्नु भएको थियो,’ प्रभाषले भने, ‘२ दिनपछि पुनः रिपोर्ट हेर्दा सुरु लिएको ऋण हटाएको र १० करोड ऋण लिन गरिएको प्रक्रिया जस्ताको तस्तै रहेको देखिन्छ ।’
लक्ष्मी सनराइज बैंकसँग अहिले कुनै कारोबार नभएको अवस्थामा आफ्ना सम्पूर्ण कागजात बैंकको वीरगन्ज शाखामा कसरी पुग्यो ? र कसले पुर्यायो ? भनेर उनले प्रश्न गरेका छन् । प्रभाष आफूले अहिलेसम्म रामेश्वरलाई नचिनेको र नदेखेको बताउँछन्।
‘बैंकको नियमअनुसार कर्जा प्रवाह गर्दा एकाघरको अंश लाग्ने सदस्यहरुलाई मात्र व्यक्तिगत ग्यारेण्टी राख्न मिल्ने प्रावधान हुँदाहुँदै अपरिचित रामेश्वरलाई कर्जा प्रवाह गर्दा मलाई कसरी ग्यारेन्टी राखियो ?,’ उनले प्रश्न गरे, ‘यो बदमासीले बैंकहरुले कतिसम्म गर्छन् भन्ने प्रष्ट हुन्छ ।’
प्रभाषले आफूजस्तै अन्य धेरै व्यक्तिलाई बैंकले फसाएको हुनसक्ने बताए । उनले यस घटनामा दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत गरेका छन् ।
विराटनगरस्थित बैंकका प्रबन्धक सुदीप रायमाझीले कहिलेकाहीँ गल्ती हुनसक्ने बताए । ‘कसरी गल्ती भयो भनेर आन्तरिक हिसाबले अनुसन्धान गर्दैछौं । लक्ष्मी र सनराइज बैंक १ वर्षअघि मर्ज भएका हुन् । त्यस क्रममा पनि गल्ती भएको हुनसक्छ । अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुन्छ,’ उनले भने ।
कसैले कर्जा लिँदा सम्पत्तिमा हक लाग्नेलाई मात्रै ‘पर्सनल ग्यारेन्टी’ राख्न मिल्ने उनको भनाइ छ । ‘उहाँ (प्रभाष)ले बैंकमा आएर कुनै कागजात ‘थिच्नु’ भएको छैन । व्यक्तिगत हिसाबले केही गरेको देखिँदैन । गल्ती कसरी भयो भनेर खोज्दैछौं,’ प्रबन्धक रायमाझी भन्छन् ।
प्रतिक्रिया