काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको मुख्य लक्ष्य न्यून आय भएका वर्गलाई समृद्ध बनाउने रहेको बताएका छन्।
कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कांग्रेस पूँजीवादी अर्थतन्त्रमा विश्वास राख्ने तर त्यसले सबै नागरिकको उत्थान गर्न सक्ने नीति अँगाल्ने पक्षमा रहेको बताए। "हामीले खोजेको भनेको समुन्नत नेपाल हो। नाफालाई अपराध ठान्दैनौँ तर तल्लो तहमा रहेका जनतालाई माथि उकास्न चाहन्छौँ", उनले भने।
कार्यक्रममा बेलायतको लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीसँगको अन्तरक्रियामा थापाले नेपाली कांग्रेस र बेलायती लेबर पार्टीबीच विचार मिल्ने धेरै आधार रहेको उल्लेख गरे। उनले बेलायतको संसदीय प्रणालीलाई नेपाली कांग्रेसले अनुकरण गर्दै आएको बताउँदै व्यवस्थित प्रणाली नै सुशासनको आधार हुने धारणा व्यक्त गरे।
लेबर पार्टीका नेता डा. कैनीले पनि नेपाली कांग्रेसलाई बेलायती लोकतन्त्रबाट सिक्न सक्ने सम्भावना रहेको बताए। उनले बेलायतमा प्रधानमन्त्रीको उम्मेदवार चुनावअघि नै तय हुने परिपाटी, योग्य नेताको विकासका लागि दीर्घकालीन अनुभवको मूल्य, र विविध समुदायको सहभागिता सुनिश्चित गर्ने अभ्यासबारे अनुभव सुनाए।
कार्यक्रममा कांग्रेस नेता अजयबाबु शिवाकोटीले बेलायती अभ्यासले नेपाली लोकतन्त्रलाई सशक्त बनाउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया