शिक्षकका मागमा सरकारले बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : प्रचण्ड

सोमबार, ०९ असार २०८२

नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमै पुगेर  उनीहरूले प्रचण्डलाई भेटेका हुन् ।

भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरेका थिए । शिक्षकहरूले सरकारसँगको सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जनाएको छ । 

शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । 'शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेशा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ,' उनले भने, 'सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई शिक्षकका मागहरू पूरा भएनन् भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं।'

अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिए । प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार