विराटनगर : मोरङको कटहरीमा आयोजना चार दिनअघि सुरु भएको कृषि मेला सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कृषि मेलाको आइतबार (आज) सम्पन्न भएको हो ।
एक्स्पोमा एक सय ३० वटा स्टल राखिएको थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार करिब एक लाख जनाले एक्स्पोको अवलोकन गरेका छन् ।
एक्स्पोमा कोशी र मधेश प्रदेशका कृषक, कृषि कलेज, विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, कृषक, कृषि विज्ञलगायत सहभागी भएका थिए ।
कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुको सिफारिसमा मात्रै आठ सय जना कृषक मेलामा सहभागी भएको राउतले बताए । जिल्ला बाहिरबाट आएका कृषक तथा विद्यार्थीलाई निःशुल्क खानबस्नको व्यवस्था मिलाइएको राउतले बताए ।
एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, ‘कस्टम हायरिङ’को प्रयोग, पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुतिकरण भएको उनले बताए । उनका अनुसार विज्ञहरू बीच ‘प्यानल डिस्कसन’ पनि भएको थियो ।
भारत निवासी विज्ञ डा. कन्चन भौमिक, कृसेन्दु सिन्हा र डा. सुभाशिष बलले कृषिमा ‘एजोला तथा ब्लुग्रीन एल्गी’को उत्पादन र प्रयोग एवं जैविक मल तथा विषादी बनाउने र यसको प्रयोग विधिका विषयमा कृषकहरूलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया