मोरङ : नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लुइँटेल नागरिकता लगायतका सरकारी कागजात सच्याइ सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको कसुरमा दोषी ठहर भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई आइतबार दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशद्वय टेकेन्द्र कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र जरिवाना तोकेको छ ।
गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र तीन महिना कैदका साथै सार्वजनिक सम्पतिको हानी नोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप एक लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको हो ।
दोषी ठहर भएका वडाध्यक्ष लुइँटेल नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ६ का निर्वाचित वडाध्यक्ष हुन् ।
वडाध्यक्ष लुइँटेलले पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ ।
त्यसैगरी रतुवामाई नगरपालिका वडा नं. ६ बस्ने मेघदीप पोखरेल पनि यही मुद्दामा दोषी ठहर भएका छन् । उनले जेठी श्रीमती तुलसा देवीको नागरिकताको प्रथम प्रतिलिपिको फोटोकपीमा जन्ममिति सच्याइ ज्येष्ठ नागरिक भत्ता पाउने लाभग्राहीको सूचीमा नाम प्रविष्ट गराएको विशेष अदालतको ठहर छ ।
श्रीमतीको उमेर बढाई नागरिकताको प्रतिलिपि लिन सिफारिस गर्ने वडाध्यक्ष लुइँटेल, मेघदीप पोख्रेल र तुलसादेवी तथा तत्कालीन वडा सचिव कल्पना बास्तोला र इलाका प्रशासन कार्यालय मोरङका तत्कालीन नायब सुब्बा रमेश कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतममा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा कर्मचारीहरूले भने सफाइ पाएका छन् । कर्मचारीहरूको तर्फबाट अधिवक्ता लबन न्यौपाने, अधिवक्ता विनोदमणी भट्टराई लगायतले बहस गरेका थिए ।
प्रतिक्रिया