विराटनगरमा स्कारपिओबाट एक सय ४६ केजी गाँजा बरामद, धरानका दुई पुरुष पक्राउ

मंगलबार, ०१ असोज २०८१
विराटनगर : विराटनगरमा स्कारपिओ गाडीबाट एक सय ४६ केजी गाँजा बरामद भएको छ । भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कारपिओबाट सोमबार राति गाँजा बरामद गरिएको हो । स्कारपिओमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट स्कारपिओलाई प्रहरीले राति ८ः४५ बजेतिर नियन्त्रणमा लिएको हो । स्कारपिओ नियन्त्रणमा लिएर खानतलासी गर्दा एक सय ४६ केजी गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ६ वटा बोराभित्र प्याक गरेर गाडीको पछाडिको साइडमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको उनले जनाए । प्रहरीलाई देखेपछि स्कारपिओ तीव्र गतिमा भागेको थियो । नियन्त्रणमा लिने क्रममा स्कारपिओले प्रहरीलाईसमेत ठक्कर दिएको छ । डीएसपी बस्नेतका अनुसार स्कारपिओको ठक्करबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरमा कार्यरत प्रहरी हवल्दार कैलाश खत्री घाइते भएका छन् । खत्रीलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ । स्कारपिओभित्र गाँजा फेला परेपछि सुनसरीको धरान घर भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडी चालक धरान उपमहानगरपालिका–४ का ४५ वर्षीय सुक्षिम राई र स्कारपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ गरिएको बस्नेतले बताए । उनका अनुसार नियन्त्रणमा लिएको स्कारपिओ र बरामद भएको गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलो गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । गाँजा लिएर भारतको जोगवनीतिर जाँदै गरेको कारलाई नियन्त्रणमा लिएर प्रहरीले चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरेको हो । पछिल्लो समय नेपालबाट गाँजा भारततर्फ लगेर बेच्ने क्रम बढेकाले प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार