उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

आइतबार, ०६ असोज २०८१
विराटनगर : मोरङको उर्लाबारीमा रहेको एक क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । उर्लाबारी नगरपालिका–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा विद्यार्थीले आइतबार (आज) तालाबन्दी गरेका हुन् । क्याम्पस सञ्चालक समितिको शनिबार बसेको बैठकले उर्लाबारी–४ का ५० वर्षीय खेमराज कार्कीलाई क्याम्पस प्रमुखमा पुनः नियुक्त गरेको थियो । उक्त नियुक्तिको विरोध गर्दै अनेरास्ववियुका विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् । कार्की यसअघि पनि क्याम्पस प्रमुख थिए । क्याम्पस प्रमुखमा निरन्तरता दिने निर्णय सञ्चालक समितिले गरेपछि विद्यार्थी र सञ्चालक समितिका केही सदस्यले विरोध गर्दै आएका थिए । त्यसकै विरोधमा विद्यार्थीले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । पठनपाठन भने सुचारु रहेको बताइएको छ । यसअघि क्याम्पस प्रमुख कार्कीले चलाएको प्रदेश १–०१–०१६ प ८२३५ नम्बरको मोटरसाइकलबाट खसेर पछाडि सवार महिलाको मृत्यु भएको थियो । गत साउन ३२ गते जिल्लाको कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ पुल नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परेर घाइते भएकी उर्लाबारी–४ की ४२ वर्षीया शर्मीला बोहोराको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा भदौ ३ गते मृत्यु भएको थियो । प्रहरीले कार्कीविरुद्ध सवारी ज्यान मुद्दासमेत चलाएको थियो । तर, कार्कीलाई अदालतले सफाइ दिइसकेको छ । उनको चरित्रमाथि नै प्रश्न उठिरहेका बेला क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै विरोधस्वरूप तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार