संविधान संशोधनका लागि दलहरुबीच छलफल चलिरहेको छ : सभामुख घिमिरे

सोमबार, ०७ असोज २०८१
विराटनगर । सभामुख देवराज घिमिरेले संविधान संशोधनका लागि दलहरुबीचमा छलफल चलिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै घिमिरेले संविधान संशोधन व्यक्ति, संगठन र संस्था विशेषको कुरा नभएकाले सरसल्लाह, बहस र छलफल आवश्यक रहेको बताए । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच छलफल भने चलिरहेको उनले स्पष्ट पारेका छन् । ‘संविधान संशोधन संसदले गर्छ,’ घिमिरे भन्छन्, ‘तर, संशोधन गर्ने प्रक्रियादेखि के विषयमा र कसरी तथा कहिले गर्नेजस्ता विषयमा वृहत्तर समझदारीको जरुरी छ ।’ संघीयता कार्यान्वयन गर्न भने कानुनको अभाव झेल्नु परिरहेको उनले बताएका छन् । संविधान संशोधनको कुरा उठिरहेका बेला सभामुखले संघीयता कार्यान्वयन गर्न नै कानुन अभाव रहेको र संविधान संशोधन एवं कार्यान्वयनमा समस्या भइरहेको बताएका हुन् । कानुनलाई प्राथमिकता दिन खोजिए पनि संसदको पछिल्लो अधिवेशनमा कानुन बनाउन नसकिएको उनले बताए । घिमिरेले निजामती सेवा विधेयकमा ऐन बनाउन र प्रहरी संगठन संचालन सम्बन्धी ऐन, कानुन बनाउन नसकिएको बताए । प्रतिकूल समयबीच पनि बजेटलाई समयभित्र पारित गर्दै टीआसरी विधेयक पासदेखि सहकारी ठगी प्रकरणलाई समाधान गर्र्न संसदले विशेष समिति बनाएर छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनेजस्ता महत्वपूर्ण कामहरु भएको सभामुख घिमिरेको भनाइ छ । पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विषयमा आफूलाई जानकारी नभएको उनले बताए । नेकपा (माओवादी केन्द्र)ले संसद चल्न नदिने भनेर भनेको कुरा सल्टिसकेको उनको भनाइ छ । संसदमा उपसभामुखमाथि सांसदहरुले पदीय आचरणविपरीत कुरा उठाएको बताउँदै घिमिरेले त्यो कुराको आधिकारिक पुष्टि नहुदै संसद अधिवेशन अन्त्य भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार