विराटनगरमा मृत भेटिइन् युवती, भित्री वस्त्रमा लागूऔषध फेला

सोमबार, ०७ असोज २०८१
विराटनगर : नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगरमा सोमबार (आज) दिउँसो एक युवती मृत फेला परेकी छन् । मृत फेला परेकी युवतीको साथबाट लागूऔषध भेटिएको प्रहरीले जनाएको छ । मृतकले लगाएको भित्री वस्त्रभित्र मलद्वारको भागबाट लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ । मृत फेला परेकी युवतीको पहिचान खुल्न बाँकी छ । हुलिया परिपत्र गर्दै प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१६ हुलास चोकको बाटोनजिक नालीमा अन्दाजी २८/३० वर्षीया युवती मृत फेला परेकी हुन् । तत्काल नाम, थर र वतन नखुलेकी युवती दिउँसो ३ः४० बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी दिएका थिए । डीएसपी बस्नेतका अनुसार मृतकको घाटीको पछाडिको भागमा फूलजस्तो ट्याटु र टाउको, हातलगायत शरीरका विभिन्न भागमा सेतो दुबीजस्तो देखिन्छ । गाडा हरियो रंगको सर्ट र निलो जिन्सको पाइन्ट लगाएकी महिलाको कपाल पूरै मुण्डन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि टोली परिचालन गरिएको थियो । ओली नेतृत्वको प्रहरी टोलीले घटनास्थल मुचुल्का गर्ने क्रममा मृतक युवतीको भित्री वस्त्रबाट २२ एम्पुल लागूऔषध बरामद गरेको हो । युवतीले लगाएको भित्री वस्त्रभित्र मलद्वारको भागमा लागूऔषध एभिल, डाइजापाम र नोरजेसिक फेला परेको बस्नेतले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । प्रहरीका अनुसार मृतकको साथमा परिचय खुल्ने कुनैपनि कागजात छैन । मृतकको पहिचानको प्रयास गर्दै विभिन्न कोणबाट घटनाको अनुसन्धान अगाडि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । प्रहरी स्रोतका अनुसार भारतको जोगवनीबाट लागूऔषध सेवन गरेर फर्किएकी युवतीले साथमा पनि लिएर आएको हुनसक्छ । ‘जोगवनीमा सेवन गरेपछि साथमा पनि लागूऔषध लिएर आएजस्तो देखिन्छ । लागूऔषधको ‘ओभरडोज’ले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ,’ प्रहरी स्रोतले भन्यो । घटनाबारे अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार