यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

मंगलबार, ०८ असोज २०८१
काठमाडौँ : यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए । उनकाअनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भने, “यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।” चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्न सक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए । उनले भने, “सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।” खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनको भनाइ छ । चाडपर्वका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसियारी पुर्‍याउन र यात्रुलाई पनि सजगरहन आग्रहसमेत गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार