तस्करीको मार्बलसहितको ट्याक्टर प्रहरीको नियन्त्रणमा

बुधबार, ०९ असोज २०८१
विराटनगर । मोरङको सुवनर्षीबाट प्रहरीले तस्करीको मार्बलसहित एउटा ट्याक्टरलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सुनवर्षी नगरपालिका–५ झुँगी टोलस्थित भित्री सडक खण्डमा को २ त ६४४२ नम्बरको ट्याक्टरबाट अवैध मार्बल बरामद भएको बताए । भारतबाट नेपालतर्फ अवैध रूपमा लुकाइछिपाइ ल्याउँदै गर्दा दिउँसो १ बजेतिर मार्बल बरामद भएको उनले बताए । तस्करी गरेर मार्बल ल्याइएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले ट्याक्टर नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यस क्रममा सनपाटले माथिबाट छोपेर ट्याक्टरमा लोड गरी मार्बल ल्याउँदै गरेको फेला परेको हो । डीएसपी बस्नेतका अनुसार ८५ वटा काटुनमा प्याक गरेर ल्याइएको ३ सय ४० पिस मार्बल र १६ मन ९१ मनको ४० किलोग्राम० सनपाट बरामद भएको छ । मार्बल १ लाख ३६ हजार र सनपाट ६० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर चालक रंगेली नगरपालिका–६ का ६० वर्षीय रामनारायण सदरारलाई पनि पक्राउ गरिएको छ । डीएसपी बस्नेतले ट्याक्टरमा भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध मार्बल र सनपाट फेला परेपछि ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको बताए । प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर, बरामद गरिएको मार्बल र सनपाटसहित पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । ट्याक्टर र मार्बल कसको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार