विराटनगरमा स्तन क्यान्सर सचेतना कार्यक्रम : ‘बोलौँ, काम गरौँ, जीवन बचाऔँ’

विहीबार, ३० असोज २०८२

विराटनगर : महिलामा तीव्र रूपमा बढ्दै गएको स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले विराटनगर लेडिज सर्कलले बिहीबार विशेष सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ।

‘स्तन क्यान्सर बुझ्दै, मौनता तोड्दै’ र ‘बोलौँ, काम गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा चिकित्सक, क्यान्सर सर्भाइभर तथा महिला अभियन्ताहरूले स्तन क्यान्सरको रोकथाम, प्रारम्भिक परीक्षण र उपचारबारे जानकारी साझा गरे।

क्यान्सर जितेर समाजमा प्रेरणादायी जीवन बिताइरहेका सर्भाइभरहरूले आफ्ना अनुभव सुनाउँदै भने, “क्यान्सर लाग्दैमा अन्त्य हुँदैन, हिम्मत र सकारात्मक सोचका साथ रोगसँग लड्न सकिन्छ।”

सर्भाइभरहरूका अनुसार प्रारम्भिक चरणमै पहिचान गर्न सके स्तन क्यान्सर पूर्णरुपमा निको हुन सक्छ। उनीहरूले महिलालाई महिनामा कम्तीमा एकपटक घरमै आफैँले स्तन परीक्षण (Self Breast Examination) गर्न र शङ्का लागेमा ढिला नगरी चिकित्सक कहाँ जाने आग्रह गरे।

pradeskhabar.com - 2025-10-16T212007.804

कार्यक्रममा लेडिज सर्कलकी अध्यक्ष कुसुम लुनियाँले महिलामाझ स्तन क्यान्सरको समस्या तीव्र रूपमा फैलँदै गएको बताउँदै भनिन्, “क्यान्सरबारे खुला रूपमा बोल्ने संस्कार र नियमित परीक्षणको अभ्यास सुरु गर्न अहिले नै कदम चाल्न जरुरी छ।”

उनले यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा डर होइन, सजगता फैलाउने विश्वास व्यक्त गरिन्।

pradeskhabar.com - 2025-10-16T221014.244

त्यस्तै, डा. मोना प्रियदर्शनीले स्तन क्यान्सरका प्रारम्भिक लक्षणहरूबारे विस्तृत जानकारी दिँदै भनिन्, “स्तनमा गाँठो महसुस हुनु, आकार वा छालामा असामान्यता देखिनु, निप्पलबाट रस वा रगत आउनु जस्ता सङ्केत देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनु अत्यावश्यक हुन्छ।”

pradeskhabar.com - 2025-10-16T212213.235

उनका अनुसार, ४० वर्ष नाघेकी महिलाले वर्षमा कम्तीमा एकपटक म्यामोग्राफी परीक्षण गराउनुपर्ने र २० वर्षपछि हरेक महिलाले आत्म–परीक्षणको बानी बसाल्नुपर्ने सुझाव दिइन्।

उनले थपिन्, “१५ वर्ष मुनिका किशोरीहरूका लागि एचपीभी (HPV) भ्याक्सिन अत्यन्त प्रभावकारी छ, जसले गर्भाशय मुख क्यान्सरसँगै अन्य क्यान्सरबाट पनि जोगाउँछ।”

डा. प्रियदर्शनीले परिवार र समाजको सहयोगले बिरामीको आत्मबल बढ्ने र त्यसले उपचार प्रक्रियालाई सहज बनाउनेमा जोड दिइन्।

कार्यक्रममा सहभागीहरूलाई स्तन क्यान्सरको प्रारम्भिक परीक्षण विधि, जोखिम घटाउने उपाय र जीवनशैलीमा अपनाउनुपर्ने सावधानीबारे जानकारीमूलक पुस्तिका समेत वितरण गरिएको थियो।

स्वास्थ्यकर्मीहरूका अनुसार, नेपालमा हरेक वर्ष करिब २ हजारभन्दा बढी महिलामा स्तन क्यान्सरको नयाँ केस देखिन्छ, जसमा समयमै परीक्षण र उपचार भए निको हुने दर ९० प्रतिशतसम्म रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार