काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सय दिन पुगेको अवसरमा देशवासीलाई सम्बोधन गर्दै सरकारको महत्वपूर्ण प्रगति र चुनौतीबारे जानकारी दिएका छन्।
उनले पहिलो सय दिनमा सरकारले ७० प्रतिशत काम सम्पन्न गरेको भन्दै बाँकी ३० प्रतिशत कामसमेत प्रकृतिले प्रतिकूलता नदेखाएको भए पूरा हुने बताए।
प्रधानमन्त्री ओलीले यस सय दिनको अवधिमा सरकारको मुख्य प्राथमिकता विकास, सुशासन, र जनताको जीवनस्तर सुधारलाई बनाएको बताए।
उनले भने, "हामीले थालिएका कामहरूलाई समयमै सम्पन्न गर्ने र जनतालाई महसुस हुने गरी सेवा प्रवाहमा सुधार ल्याउने प्रतिवद्धता गरेका छौं।"
सरकार गठनको प्रारम्भिक समयमा विभिन्न विपद् र चुनौतीहरूको सामना गर्नु परेको उल्लेख गर्दै उनले त्रिशुली नदीको बस दुर्घटना, बाढी पहिरो र अन्य प्राकृतिक विपत्तिहरूको शृङ्खलाले सरकारको कामलाई केही हदसम्म प्रभावित बनाएको जनाए।
प्रधानमन्त्रीले विपत्तिबाट पीडित नागरिकहरूको उद्धार, राहत, र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको र बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिए।
त्यस्तै, प्रभावित क्षेत्रमा अस्थायी आवास व्यवस्थापन र भौतिक संरचना पुनर्निर्माणका लागि ठोस कार्ययोजना अघि बढाइएको बताए।
प्रधानमन्त्रीले यो अवधिमा कृषि, उद्योग र उद्यमशीलतामा समेत उल्लेखनीय प्रगति भएको बताए। उनले सरकारको समर्थनमा स्टार्टअप उद्यमहरूको कर्जा वितरण र किसानहरूको बक्यौता भुक्तानी जस्ता कार्यहरू सम्पन्न गरेको उल्लेख गरे।
उनले भ्रष्टाचार नियन्त्रणको सरकारको दृढ संकल्प र जनताप्रतिको उत्तरदायित्वलाई जोड दिँदै भने, “भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्द्धनमा सरकार कुनै सम्झौता गर्दैन।"
प्रधानमन्त्री ओलीले सरकारका कामहरू प्रभावकारी रूपमा सम्पन्न गर्न निरन्तर जनताको साथ र समर्थन आवश्यक रहेको औंल्याए।
पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया