विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारले सोधेका प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले एसपीपी सम्झौता नहुने बताएका हुन् ।
जहाजबाट ओर्लिएर गाडी चढ्ने बेलामा उनलाई पत्रकारले मुलुकको आर्थिक समृद्धि र अमेरिकाले प्रस्ताव गरेको एसपीपीका बारेमा प्रश्न गरेका थिए । जवाफमा ओलीले एसपीपी सम्झौता नहुने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एसपीपी सम्झौता गर्न सक्ने आशंकापूर्ण अभिव्यक्ति दिएका थिए । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरेका हुन् ।
आइतबार मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको एसपीपी सम्झौता सरकारले गर्नसक्ने जिकिर गरेका थिए ।
तर, विराटनगर विमानस्थलमा ओलीले एसपीपी सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले मुलुकमा आर्थिक समृद्धिको काम भइरहेको बताए । ‘मुलुकको समृद्धिका लागि हामी काम गर्दैछौं,’ उनले भने । त्यसपछि ओलीले थप प्रतिक्रिया दिन चाहेनन् ।
उनी केहीबेर होटल ह्यारिसमा आराम गरेर सुनसरीको धरानतिर जाने कार्यक्रम छ । उक्त होटल उद्योगी एवं एमाले नेता मोती दुगडको हो । ओली विराटनगर आउँदा प्राय यही होटल प्रयोग गर्छन् । प्रधानमन्त्री आउने भएपछि विराटनगर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
ओली सुनसरीको धरान जाने कार्यक्रम छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा सहभागी हुन उनी पूर्व आएका हुन् । उनी आजै अपरान्ह विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो ।
प्रतिक्रिया