विराटनगरमा श्री एयरलाइन्सको उडान रद्ध भएपछि विमानस्थलमा लफडा

बुधबार, २८ कार्तिक २०८१
विराटनगर : विराटनगर विमानस्थलमा श्री एयरलाइन्सको उडान रद्ध भएपछि अहिले लफडा भइरहेको छ । विराटनगर–काठमाडौंको साँझ ७ बजेको उडान रद्ध भएपछि लफडा भएको हो । उडान रद्ध भएपछि यात्रु आक्रोशित बनेका छन् । प्रहरीका अनुसार विराटनगर विमानस्थल हुँदै काठमाडौं जान ८० जना यात्रुले टिकट काटेका थिए । यात्रुहरूलाई उडान रद्ध भएको जानकारी करिब ८ः३० बजेतिर मात्रै दिइएको थियो । काठमाडौं जान साँझ ६ बजेदेखि नै यात्रुहरू विमानस्थल पुग्न थालेका थिए । दुई घण्टा भन्दा बढी समय बसेपछि मात्रै उडान रद्ध भएको जानकारी पाएपछि आफूहरू अलपत्र परेको भन्दै यात्रु आक्रोशिन भएको प्रहरीले जनाएको छ । अहिले राति १० बजेपछि काठमाडौंमा विमानस्थल बन्द हुन्छ । जहाज आएर काठमाडौं फर्कन नभ्याउने भएपछि उडान रद्ध गर्नुपर्ने अवस्था आएको जानकारी एयरलाइन्सले यात्रुहरूलाई दिएको छ । साँझको उडान रद्ध भएको र भोलिपल्ट बिहान १० बजे काठमाडौं लैजाने यात्रुहरूलाई जानकारी दिइएको थियो । त्यसपछि आक्रोशित बनेका यात्रुहरूले होहल्ला गरिरहेका छन् । उनीहरूले रातको समयमा एयरलाइन्सले अलपत्र पारेको भन्दै आक्रोश पोखिरहेका हुन् । आक्रोशित भीडले विमानस्थलभित्र एयरलाइन्सको काउन्टर अगाडि होहल्ला गरिरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले उडान रद्ध भएको विषयलाई लिएर यात्रुहरूले विवाद गरिरहेको बताए । आक्रोशित बनेका यात्रुहरूलाई सम्झाइबुझाइ गर्ने काम भइरहेको उनको भनाइ छ । ‘त्यति ठूलो लफडा होइन । सामान्य वादविवाद भइरहेको छ । एयरलाइन्सका कर्मचारीमा जवाफदेहिता नदेखिएको गुनासो यात्रुहरूले गरिरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार